निर्माणाधीन पोखरा विमानस्थल उद्‌घाटन गर्न प्रधानमन्त्रीलाई दबाब, काम सम्पन्न हुन बाँकी

काठमाडौं । यतिबेला चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौंमा छन् ।

नेपालको संसदबाट अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता पारित भएपछि आफ्नो पकड गुम्ने चिन्तामा हतार हतार बेइजिङले वाङलाई नेपाल पठाएको छ । नेपाललाई श्रीलंकाजस्तै ऋणको पासोमा थाप्ने बीआरआईको थैली बोकेर वाङ काठमाडौं आएका हुन् ।

एमसीसीबाट अनुदान आउँदा बीआरआईका नाममा ऋण दिएर नेपाललाई ब्याजको भारमा विवश बनाउने योजनामा धक्का लाग्दा नेपाल आएका वाङले सोचेअनुरुप सफलता पाउन सकेका छैनन् ।

चिनियाँ ऋणको पासोमा परेर आर्थिक टाट पल्टिएको श्रीलंकालाई नजिकबाट नियालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बीआरआईका परियोजना अध्ययन नगरी कम्युनिस्टहरुजस्तो हचुवामा तत्कालै सम्झौता अगाडि बढाइहाल्ने कच्चा कुटनीतिक गतिविधि गर्ने पक्षमा छैनन् ।

व्यापारी चीनको नियत बुझेका प्रधानमन्त्री देउवाले बीआरआई सम्झौता अगाडि बढाउन नमानेपछि चिनियाँ विदेशमन्त्रीको भ्रमण निरर्थक हुने देखिएको छ । भ्रमणको औचित्य नै नदेखेपछि चिनियाँहरु आत्तिएका छन् । काठमाडौंस्थित चिनियाँ राजदूतावासले भ्रमणको इज्जत राख्न चिनियाँ चर्को ब्याजदरको ऋणमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्‌घाटन प्रधानमन्त्री देउवालाई दबाब दिएको छ ।

सत्ता गठबन्धनका कम्युनिस्ट नेता, परराष्ट्रमन्त्री नारायण खड्का तथा चीनप्रति सदभाव राख्ने कांग्रेस नेताहरुमार्फत चिनियाँ राजदूत होउ यान्छीले निर्माण सम्पन्न नै नभएको विमानस्थल उद्घाटन गर्न दबाब दिएको उच्च स्रोतले बतायो।  ऋणको पासोमा पार्ने बीआरआई परियोजना तत्कालै अगाडि बढाउन अस्वीकार गरेका देउवा भ्रमणको मान राख्न चिनियाँ चर्को दबाबका बीच चिनियाँ विदेशमन्त्री वाङसँगै चिनियाँ ऋण लगानीमा बनेको पोखरा विमानस्थल उद्‌घाटन गर्दैछन् ।

आयोजनाका अधिकारीकाअनुसार विमानस्थलको अहिलेसम्म निर्माण सम्पन्न भएको छैन । चिनियाँ कम्पनीको बद्‌मासीका कारण लागत पनि बढेको । नेपाललाई अतिरिक्त ऋणभार परेको छ । यो विमानस्थल नेपाललाई नाफा दिनेभन्दा पनि ऋणमा डुबाउने घाँडो बन्ने पूर्वाधार विज्ञको अध्ययनले देखाइसकेको छ ।

यस्तोमा चिनियाँ विदेशमन्त्री आएको छ भनेर देखाएर प्रधानमन्त्री देउवामाथि जबर्जस्ती उद्‌घाटन गर्न दबाब दिइएको छ। विमानस्थलको काम ९३ प्रतिशत सकिएको छ । अझै ७ प्रतिशत काम बाँकी हुँदै वाङको उपस्थितिमा पूर्वाधार हस्तान्तरण गर्ने तयारी छ । रनवेदेखि ट्याक्सी वे, टर्मिनल भवनसहितका संरचनामात्रै निर्माण भएका छन् ।

गएको जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको विमानस्थल एक वर्ष वित्दा पनि अझै निर्माण समपन्न हुन सकेको छैन । चीनको कम्पनी सीएएमसीईले निर्माणमा धेरै ढिलाई गरेको छ । विमानस्थलको उदघाटन वाङले पोखरा नभई काठमाडौंबाटै भर्चुअल माध्यममा गर्ने र त्यहीँ माध्यमबाट अवलोकन गराइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।