जसपाकाे केन्द्रीय समिति बैठक आजदेखि वीरगञ्जमा सुरु हुँदै

वीरगञ्ज २९ असार
जनता समाजवादी पार्टीकाे बैठक आजबाट वीरगञ्जमा सुरु हुँदै छ । वीरगञ्जकाे नगरसभागृह (टाउन हल)मा दिउँसाे १ बजेबाट सुरु हुने बैठकमा भाग लिन पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बुधबार नै वीरगञ्ज आइसकेका छन् भने अधिकांस सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु वीरगञ्ज आइपुगेका छन् ।
भाैतिक याेजनामन्त्री समेत रहेका पार्टीका नेता महम्मत इस्तियाक राइ लगायत केही नेताहरु भने आज बैठक सुरु हुनु अघिसम्म आइपुग्ने जसपाले जनाएकाे छ ।
बैठकमा पार्टी भित्रकाे आन्तरिक कलह तथा पार्टीकाे पछिल्लाे अवस्थाका बारेमा छलफल हुनुका साथै थप रणनीतिका विषयमा छलफल हुने बुझिएकाे छ ।
वीरगञ्जमा आजदेखि सुरु हुन लागेकाे बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित उनकाे समूह भने सहभागि हुने छैन ।
भट्टराई समूहले हिजाे काठमाण्डाैमा छुट्टै बैठक बसेर अध्यक्ष यादवलाई आज वीरगञ्जमा गर्न लागिएकाे भनिएकाे बैठक स्थगित गरेर फर्कन आग्रह गरेकाे थियाे ।
भट्टराई समूहकाे बैठकले अध्यक्ष यादव स्वेच्छाचारी ढंगले हिँडेकाे भन्दै बिराेध पनि गरेकाे थियाे । यता यादवपक्ष भने आफूहरुसँग बहुमत रहेकाे भन्दै आएकाे छ ।आजकाे बैठकले पार्टी फुटकाे आधिकारिकता दिने कतिपयले आंकलन पनि गरेका छन् ।






