भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपाल मै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थ क्षेत्र सहमत

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपाल मै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थ क्षेत्र सहमत भएको छ।
अयोध्या भ्रमण का क्रममा पूर्व उप प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने बचन दिएका हुन्।
छलफलका क्रममा महामन्त्री रायले यो प्रस्ताव सबैले मान्नै पर्ने महत्वपूर्ण विषय भएको बताए। उनले त्यसमा व्यक्तिगत रुपमा आफू पूर्ण सहमत भएको भन्दै राम मन्दिर ट्रस्ट र निर्माण समितिको बैठकमा प्रस्ताव राखेर निर्णय गर्नुपर्ने बताए। रायले भने, ‘मलाई विश्वास छ त्यो प्रस्तावमा सबैले सहमति जनाउनु हुनेछ।’
धनुष राख्नका लागि लामो समयदेखि गृहकार्यमा रहेका काँग्रेस नेता निधि र श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री रायसहित शनिबार अयोध्यामा छलफल भएको थियो। छलफलमा जानकी मन्दिरका महन्थ श्री रामतपेश्वर दास लगायत जनकपुरबासी तथा राम मन्दिर ट्रस्टका सदस्य डा.अनिल मिश्र लगायतको सहभागिता रहेको थियो।
छलफल कार्यक्रममा नेता निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्सा हस्तान्तरण गरेका थिए। यसैबीच, राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट बनाउने विषयमा पनि निधि र रायबीच विस्तृत छलफल भएको बताइएको छ ।
लामो समय देखि विवादमा रहेको राम जन्मभूमिका विषयमा भारतको सर्वोच्च अदालतको फैसला पछि अयोध्यामा राम मन्दिर निर्माण कार्य अघि बढाइएको छ। सन् २०२४ भित्र मन्दिर निर्माण गरिसक्ने लक्ष्य राखिएको छ।






