समाजवादी मोर्चाको पहिलो सभा वीरगञ्जमा सम्पन्न: प्रधानमन्त्रीसहित शीर्ष नेताले गरे सम्बोधन

वीरगञ्ज ८ भदौ

समाजवादी मोर्चा नेपालका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई जोगाउनकै लागि समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।

शुक्रवार वीरगञ्जमा आयोजित समाजवादी मोर्चाको मधेस प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै मोर्चाका शीर्ष नेताहरूले अहिले पनि गणतन्त्र र संविधानमा माथि प्रतिगामी शक्तिहरूबाट प्रहार भइरहेकाले जोगाउनका लागि मोर्चा बनाउनु परेको बताएका हुन् ।

यसका साथै मुलुकमा सुशासनको प्रत्याभूति र आर्थिक विकाससँगै समाजवाद स्थापनाका लागि पनि मोर्चा बनाइएको उनीहरूले बताए । उनीहरूले विद्यमान राजनीतिक र आर्थिक अस्थिरता लगायतका समस्याबाट मुलुकलाई यही मोर्चाले उन्मुक्ति दिलाउने जिकिर पनि गरे ।

सन्देश सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका राजनीतिक आन्दोलनहरूबाट प्राप्त भएका उपलब्धिहरू सिद्ध्याउन संविधान र गणतन्त्रमाथि प्रतिगामीहरूबाट प्रहार भइरहेको बताए । उनले भने, ‘जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोहलाई बदनाम गर्न प्रतिगामीहरू पहिलेको भन्दा १० गुणा बढी तागत लगाएर गणतन्त्र, संविधान र सङ्घीयतामाथि प्रहार गरिरहेका छन् । त्यसबाट जोगाउन पुरानै विचार र ढङ्गले सम्भव भएन । त्यसका कारण नयाँ विचारसहितको समाजवादी मोर्चा बनाउनु परेको हो ।’

मुलुकमा फेरि निरङ्कुशता लाद्ने र प्रतिगमन फर्काउन चाहनेहरूमाथि समाजवादी मोर्चाले सडक, सदन र सरकार तीन वटै ठाउँबाट एकैसाथ हमला गर्ने उनले बताए । समाजवादी मोर्चालाई बलियो बनाएर अगाडि बढेमा मुलुकमा यसको विकल्प कोही पनि बन्न नसक्ने उनले जिकिर गरे । प्रचण्डले भने, ‘अहिलेकै गठबन्धन सरकार र यो मोर्चाले मुलुकमा अब केही गर्न सक्छ भन्ने आशा जनतामा छ । त्यस कारण यो गठबन्धनको सरकार र मोर्चालाई भत्काउन प्रतिगामीहरू धूप बालेर हिँडेका छन् ।’ यद्यपि गठबन्धनको यो सरकार पुरा पाँच वर्ष सम्मै टिक्ने उनले दाबी गरे ।

उनले जनताको पक्षमा राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि जनताकै मुद्दामा केन्द्रित रहने जिकिर गरे । उनले भने, ‘मलाई अब राम्रो बाहेक अन्य गर्नु छैन । जीवनको उत्तरार्द्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झने लायक काम गर्ने विचार छ । अब ढुक्कसँग मर्ने मात्रै रहर छ ।’

प्रधानमन्त्री प्रचण्डले मधेसको विकास र समृद्धिमा आफ्नो मुख्य ध्यान रहेको बताए । उनले भने, ‘मधेस र कर्णाली प्रदेशको विकास र समृद्धि बिना नेपाल समृद्ध हुन सक्दैन । त्यसका कारण यो कार्यकालमै यी दुई प्रदेश समृद्ध र विकसित बनाउने मेरो सोच छ ।’ उनले आफ्नो नेतृत्वमा सरकार बनेदेखि सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे ।यिनै विषय नै सरकारको मुख्य एजेन्डा रहेको पनि उनले बताए ।

सभालाई सम्बोधन गर्दै मोर्चाका संयोजक समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र सङ्घीयता लगायतका उपलब्धिलाई जोगाउनकै लागि मोर्चा बनाइएको बताए । उनले भने, ‘गणतन्त्र र संविधानमाथिको खतरा अहिले पनि कायमै छन् । अहिले पनि टरिसकेको छैन । त्यही खतराबाट जोगाएर गणतन्त्र र संविधानलाई संस्थागत गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो । साथै मुलुकलाई समाजवादको बाटोमा अगाडि बढाउने लक्ष्य पनि मोर्चाको रहेको उनले बताए ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गठबन्धनको यो सरकार पाँच वर्षसम्मै टिक्ने दाबी पनि गरे । उनले भने, ‘काङ्ग्रेस पनि यो मोर्चा निर्माणको पक्षमा थियो । उसको पनि सल्लाहमा मोर्चा बनाइएको हो । त्यसका कारण यो गठबन्धन र सरकार पाँच वर्षसम्मै टिक्छ । कुनै शङ्का गर्नु पर्दैन ।’

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र, संविधान र सङ्घीयतालाई प्रतिगामीहरूबाट जोगाएर संस्थागत गरी प्रभावकारी कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाइएको बताए । उनले भने, ‘जनयुद्ध र मधेस आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरू अहिले खतरामा छन् । गणतन्त्र र सङ्घीयता विरोधी तत्त्वहरू सलबलाइरहेका छन् । त्यसका कारण उनीहरूबाट गणतन्त्र, संविधान र सङ्घीयतालाई जोगाउनकै लागि यो मोर्चा बनाइएको हो ।’ यससँगै मुलुकमा आर्थिक विकास, सुशासन र समाजवाद स्थापना पनि मोर्चा गठन गर्नुको उद्देश्य रहेको उनले बताए ।

यादवले अगाडि थपे, ‘संविधान जारी भएको आठ वर्ष बिते पनि सङ्घीयता संस्थागत हुन सकेको छैन । सङ्घीयता कार्यान्वयनका लागि ८ वर्षमा ८ वटा कानुन पनि बन्न सकेनन् । त्यसका कारण संविधान संशोधन हुनुपर्छ । उनले मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष बितिसक्दा पनि गणतन्त्र संस्थागत हुन नसकेको बताए ।

यादवले भने, ‘नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष भयो । तर सङ्घीय गणतन्त्र अझै मजबुत हुन सकेको छैन । संविधान जारी भएको ८ वर्षमा पनि सङ्घीयतालाई मजबुत गर्न सकेन । ८ वर्षमा ८ वटा कानुन पनि बन्न सकेको छैन,’ उनले भने । उनले संविधानमा धेरै त्रुटि भएकै कारण ८ वर्षमा पनि सङ्घीयता कार्यान्वयन हुन नसकेको बताए । गणतन्त्र स्थापना भएको १५ वर्षमा १५ वटा उद्योग पनि स्थापना हुन नसकेकोप्रति दुःख व्यक्त गरे ।

उनले मधेसमा प्रदेश सरकार भए पनि आफ्नै प्रहरी, प्रशासन, कर्मचारी र न्यायालय नभएको बताए । गाडी र झन्डा दिँदैमा सरकार पाए भनेर खुसी हुनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ । ‘प्रदेश सरकार त छ । तर न प्रहरी छ, न प्रशासन छ, न कर्मचारी छ, न न्यायालय छ, न स्रोतमा अधिकार छ । अनि कस्तो सरकार हो । यो हालत छ प्रदेशको । आज पनि प्रहरी समायोजन भएको छैन । मधेस प्रदेश छ, प्रहरी अर्कैको छ । मधेस प्रदेशको प्रहरी कहिले हुन्छ? मधेसको कर्मचारी कहिले हुन्छ?,’ उनले प्रश्न गरे ।

उनले ५३ प्रतिशत जनता रहेको मधेसलाई राज्यले उपेक्षा गरेको बताए । ‘५३ प्रतिशत जनता मधेसमा छन् । तर १३ प्रतिशत बजेट मात्र मधेसलाई दिइएको छ । १३ प्रतिशतले विकास सम्भव छ?,’ उनले प्रश्न गरे ।

सभालाई सम्बोधन गर्दै नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले मुलुकमा समाजवाद स्थापना हुनुपर्ने जनताको चाहना पुरा गर्नका लागि मोर्चा बनाइएको बताए । विप्लवले भने, ‘गणतन्त्र आएको १५ वर्ष भयो तर नेपाली जनताले चाहेको समाजवादसहितको परिवर्तन भने आउन सकेन । त्यसैका कारण अहिलेको शासन व्यवस्था प्रति देशभरकै जनताको असन्तुष्टि र आक्रोश छ ।’

दलाल पुँजीवाद अन्त्यका लागि नेपालमा अब अन्तिम विद्रोहको आवश्यकता रहेको पनि उनले बताए । उनले भने,‘ त्यो अन्तिम विद्रोह अब यही समाजवादी मोर्चाबाट मात्रै सम्भव छ । जसमा मधेसको पनि साथ चाहिन्छ ।’

सन्देश सभामा समाजवादी मोर्चा नेपालको प्रदेश स्तरीय मधेस प्रदेश समाजवादी मोर्चा घोषणा पनि गरियो । १२ सदसीय उक्त समितिमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रका गरी ३/३ जना नेता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।