हुण्डीमा संलग्न राज र सुबास माथि किन हुदैन कारवाही ?

वीरगंज१२ मंसिर
हुण्डी माफियाको दलालको रुपमा चर्चा कमाएका राज साह तेली र एसएसपी बेल बहादुर पाण्डे बीचको आर्थिक लेनदेन सम्बन्धि अडियो रेकर्ड सञ्चारमाध्यमहरुमा सार्वजनिक भए पछि छानबिन गर्न बनेको डिआईजी सुरेन्द्र मेनाली नेतृत्वको समितिले हालसम्म प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेश नगरेको बताईएको छ । वीरगंजको रानीघाटमा न्यु राज होजियारी सञ्चालन गरेका राज साहले एसएसपी पाण्डे पर्सा जिल्लामा प्रहरी प्रमुख हुँदा हुण्डी सन्दर्भमा आर्थिक लेनदेन गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । सो सम्बन्धमा प्रहरी प्रधान कार्यालयले डिआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समिति बनेको महिनौ बितिसक्दा पनि हालसम्म प्रतिवेदन नआउनुले अनेकन किसिमको शंका उपशंका उब्जाएको छ । आफनै छिमेकी रहेका पाण्डे माथि मैनालीले गर्ने छानबिन निष्पक्ष हुनेमा प्रहरी प्रधान कार्यालयकै अधिकारीको शंका रहेको स्रोतले जनाएको छ । हुण्डीको कार्यले करोडौं करोड कमाउन सफल भएका राज साह तेली उनी आफ्ना श्रीमति र आफ्न्तहरुको नाममा अकुत सम्पत्ति जोडेको उनका निकटवर्तीहरुको भनाई रहेको छ । भारतको रक्सौलबाट आउने हुण्डी भरियाहरुलाई पर्सा र बारा जिल्लाको ठाउं–ठाउंबाट प्रहरीले समात्दा उनी भरियाहरुलाई छोडाउने दलालको रुपमा कार्य गर्ने गरेको स्रोतले जनाएको छ । एसएसपी पाण्डेले पर्सामा प्रहरी उपरिक्षक हुंदा “आफूनिकट” विभिन्न व्यक्तिको बैंक खाता दिएर हुन्डी कारोबारीलाई पैसा जम्मा गर्न लगाएको पुष्टि हुने अडिओ प्रमाण सहित सार्वजनिक भए पछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो । तर सो समिति पाण्डे र तेली माथि अनुसन्धान गर्नु भन्दा पनि उनलाई “चोख्याउन”का लागि बनेको पछिल्ला केही ढिलासुस्तीले देखाएको अनुमान हुन थालेको छ । अडिओ रेकर्ड प्रमाणमा पाण्डेले पर्साका हुन्डी कारोबारी राज साह संग दिनेश नाम गरेका व्यक्तिको खातामा रकम जम्मा गर्न लगाएको सुनिन्छ । राज साहले “पांचको चेक” डिपोजिट गरिसकेको र “चालिसको चेक भोलि डिपोजिट” गर्ने भनेको अडिओमा प्रस्ट सुनिन्छ । देशको अर्थतन्त्र तहसनहस हुनुमा मुख्य कारण मध्ये एक मानिएको हुण्डी कारोबार पनि हो । सो छानिबन समितिलाई प्रभावमा पारिसकेको भन्दै हुण्डी दलाल राज साहले चिया पसलहरुमा अर्को हुण्डी दलालहरु सँग धाक लगाउने गर्ने गरेको उनको भनाईलाई उदृत गर्दै स्रोतले जनाएको छ । एसएसपी पाण्डे र डिआईजी सुरेन्द्र मैनालीको घर काठमाडौंको सुकेधारामा सँगै भएको हुनाले वहाँहरु दुबैजना छिमेकी रहेकोले म र एसएसपी पाण्डेलाई कसैले केही गर्न नसक्ने ठोकुवा गर्दै राज साहले बर्बराउने गरेको ती स्रोतको भनाई रहेको छ । हुण्डी दलाल राजले मैले यतिकै सफल भएको होईन, मेरो सेटिङ्ग जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र सम्मानित अदालत सम्म रहनुको साथ साथै माथि सम्म पनि राम्रै पहुँच भएकोले सबै निकायमा “चांदीको जुता” दिदै आफ्नो काम फत्ते पार्ने गरेको राजको भनाईलाई उदृत गर्दै स्रोत बताउदंछ । राज साहको भनाई यथार्थ हो कि ? नियमनकारी निकायलाई बदनाम गर्दै हिडेका हुन् ? बुझ्न गा¥हो भएको छ । यस सन्दर्भमा छानबिन समितिका संयोजक डिआईजी सुरेन्द्र मैनालीको प्रतिक्रिया लिन बुधबार र बिहिवार पटक–पटक मोबाईल फोन सम्पर्क गर्दा रिसिभ हुन सकेन । मोबाईल फोन रिसिभ हुन नसके पछि उनको मोबाईलमा पर्साबाट पर्दाफास डेली डटकमबाट फोन गरेको कृप्या रिसिभ गर्नुस भनि मैसेज पठाएर अनुरोध गर्दा पनि वहाँले रिसिभ गर्नु भएन । यसै सन्दर्भमा प्रहरी प्रधान कार्यालयका डिआईजी एवं प्रवक्ता कुबेर कडायत सँग मोबाईल फोन गरी सम्पर्क गर्दा उनले एसएसपी पाण्डे र राज साह तेली सन्दर्भमा बनेको छानबिन समितिले हालसम्म प्रतिवेदन पेश नगरेको बताए । राज साहलाई सहयोग गर्ने अजित साह देखावटी रुपमा गाई पालन गर्ने गरेका छन् । उनी दुई÷चार वटा गाई पालन गरी कृषि अनुदानको नाममा करोडौ ऋण लिई मिटरव्याजीमा पैसा लगाउने गरेको र हुण्डी कारोबारमा संलग्न गरेको स्रोतको कथन रहेको छ । वीरगंजमा स्थायी बसोबास गरेका सर्लाही निवासी राज साहको अर्का सहयोगी बारा जिल्ला प्रसौनीका सुबास साह रहेका छन् । सुबास साह श्री बेंगा साह माध्यमिक विद्यालय प्रसौनीमा पेशाले शिक्षक रहे पनि उनी आफ्ना बुवा सत्यनारायण साह तेलीको नाममा माँ वैष्णोवी मनि चेन्जर खोली कार्यालयलाई भुमिगत राखी हुण्डी कारोबार गर्ने गरेको स्रोतको भनाई रहेको छ । सुबासले आफ्ना र आफ्ना भाई रंजित साह भन्ने रामेश्वर साहको मोबाईलमा सयकडौ व्यक्तिको आईपिएस एकाउन्ट खोली हुण्डी कारोबार गर्ने गरेको स्रोतको कथन रहेको छ । सुबासको आईपिएसको ट्रान्जेक्सन दैनिक करोडौं करोड रहेको उनका निकटवर्तीहरु बताउदंछन् । सुबास र रंजितको मोबाईलमा रहेको आईपिएस एकाउन्ट ती सबै अबैध कारोबारीहरुको रहेको स्रोतले जनाएको छ । अबैध हुण्डी बारोबारबाट करोडौ करोड कमाउन सफल भएका राज साह तेली, अजित साह, सुबास साह र रंजित साह माथि सम्पत्ति शुद्धिकरण विभाग लगायतका अन्य नियमनकारी निकायले कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।






