बाघको आक्रमणमा एकको मृत्यु
बाघको आक्रमणमा एकको मृत्यु

वीरगन्ज ९ पुस
आइतबार साँझ शौच गर्न गएका एक युवक सोमबार बिहान मृत फेला परेका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ थरुहटी गाउँ भन्दा करिब दुई सय मिटर उत्तर जंगलको खाली जग्गामा शौच गर्न गएका ३२ वर्षीय मनोज राउत धागड मृत अवथामा फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।
राति घर नफर्किएपछि सोमबार बिहान खोज्ज निस्किएका परिवारजन र स्थानीयले रगत र मोबाइल देखेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए ।
धागडको मृत्यृ बाघको आक्रमणले भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक केशरीका अनुसार साँझ शौच गर्न गएको ठाउँदेखि करिब तीन सय मिटर भित्र लगेर बाघले धागडलाई मारेको हो ।
‘बाघको पैतालाको छाप, मारेको ठाउँमा मृतकको मोबाइल, दाहिने खुट्टाको घुडादेखिको तलको बाँकी भाग, गर्धनको छाला नभएको मासु, छाला नभएको खप्पर बरामद भएको छ,’ प्रहरी निरीक्षक केसरीले भने, ‘मृतकको ब्रासलेट, कट्टु, सुर्तीको बट्टा र ज्याकेट बरामद भएको छ । आक्रमण गरी घटनास्थलबाट भित्र जंगल तर्फ लगेको बाटो भरी रगत लागेको फेला परेको छ ।’ घटनास्थलमा शव जाँच मुचुल्का बनाएपछि पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ । सभार: ई कान्तिपुर






