‘भ्रष्टाचारीलाई कारवाही गर’, ‘लुटकारी व्यवस्था चाहिदैन’ भन्दै आजपाद्धारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भ्रष्टाचारको बिरुद्धमा शनिवार काठमाडौंमा प्रदर्शन गरेको छ । ‘भ्रष्टाचारीलाई कारवाही गर’ लगायतका बिभिन्न माग गर्दै सरकारलाई दबाब दिने उदेश्यले आजपाले काठमाडौंमा प्रदर्शन गरेको हो ।
आजपा काठमाडौं उपत्यका संयोजन समितिको आयोजनामा ललितपुरको कुपण्डोलबाट सुरु भएको भ्रष्टाचार बिरुद्धको मोटरसाईकल ¥याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप हुदै भद्रकालीमा पुगेर सभामा परिणत भयो । हजारौंको सहभागिता रहेको सो र्यालीमा भ्रष्टाचार बिरुद्धको नाराहरु लगाईएको थियो ।
‘भ्रष्टाचारीलाई कारवाही गर’, ‘जनतालाई लुटन पाईदैन्’, ‘लुटकारी व्यवस्था चाहिदैन्’ लगायतका नारा लगाउँदै ¥यालीमा सहभागिहरुले आम जनताको शासन व्यवस्था कायम गर्नुपर्ने जनाएका छन् ।
बिरोध प्रदर्शन पश्चात आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचारबिरुद्ध काठमाडौंमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको जनाएका छन् । यसले आम जनसमुदायमा भ्रष्टाचारविरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई कारवाहीको लागि राज्यमाथी जनदवाव पुग्ने बिश्वास अध्यक्ष साहले व्यक्त गरेका छन् ।
भद्रकालीमा आयोजित सभालाई आजपाका उपाध्यक्ष एवं सभासद तिलक थापा मगर, उपमहासचिव अरुण घिसिङ, आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रञ्जु साह लगायतकाले सम्बोधन गरेको आजपा उपाध्यक्ष रिता साहले जनाएकी छन् ।
आजपाले भ्रष्टाचार बिरुद्ध बिभिन्न गतिविधि गर्दै आएको छ । भ्रष्टाचार बिरुद्धको संघर्षमा रहेको आजपाले भन्सार कानून संशोधनको माग समेत गर्दै आन्दोलन गर्दै आएको छ । आजपा निकटको आम सम्पर्क मञ्च र भन्सार कानून सुधार संघर्ष समितिले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार बिभाग समेत घेर्दै आएको छ ।
भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध बिभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ गर्दै आएको आजपाले कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पति जफत गर्ने प्रावधान हटाउँनुपर्ने माग गर्दै आएको छ ।
यसैगरी भन्सारबाट उठेको राजश्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने ब्यवस्था गर्नुपर्ने, घरायसी प्रयोजनको लागि ल्याईने बस्तुमा भन्सार कर लगाउँने व्यवस्थाको अन्त्य हुनुपर्ने माग उनीहरुले गरेका छन् । आजपा प्रवक्ता चन्द्रभुषण साहले आफूहरुको माग सम्बोधनमा ढिलाई भए यो भन्दा कडा आन्दोलनका कार्यक्रम ल्याउँने चेतावनी दिएका छन् ।
यसअघि भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने लगायतका माग गर्दै आजपाले ११ माघमा मधेस बन्द गरेको थियो । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले बिभिन्न माग गर्दै ११ माघमा मधेस बन्द गरेको थियो । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने’ लगायतका माग गर्दै आजपाले मधेस बन्द गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।