वीरगंजदेखि पथलैयासम्म ट्राफिक प्रहरीको अबैध असुली धन्धा, तलदेखि माथिसम्म सेटिङ्ग
वीरगंजदेखि पथलैयासम्म ट्राफिक प्रहरीको अबैध असुली धन्धा, तलदेखि माथिसम्म सेटिङ्ग

वीरगज, १९ जेठ
वीरगंज विभिन्न ठाउँमा तैनाथ ट्राफिक प्रहरीले मालवाहक गाडी चेकजाँचको नाममा ‘अवैध असुली’ गरिरहेको छ । ट्राफिक प्रहरीले वीरगंज भन्सारबाट निस्कने मालवाहक गाडीहरूसँग चेकजाँचको नाममा भन्सार नजिकै ड्राईपोर्ट बिटदेखि परवानीपुर, पथलैयाँसहितका विभिन्न ट्राफिक बिटमा कानुन विपरीत प्रवेश शुल्कको नाममा एक सयदेखि रु ५ सय रुपैयाँसम्म असुलेर कुनै रसिद नदिने गरेको चालकहरूले गुनासो गरेका छन् ।
वीरगंज मुख्य भन्सार कार्यालय, आईसिपी, ड्राईपोर्टबाट निस्कने सवारीसंग हाकाहाकी नियम विपरीत ट्राफिक प्रहरीले अर्थ संकलन गर्ने गरेको चालकहरूको भनाई छ । भारतबाट रक्सौल बोर्डर हुँदै आईसिपी, डाईपोर्टबाट नेपाल छिर्ने ओभरलोड ट्रक, कन्टेनर लगायतका मालवाहक गाडीबाट प्रवेश शुल्कको नाममा वीरगंजको डाईपोर्ट, गण्डक, परवाानीपुर र पथलैया राखिएका ट्राफिक बिटमा ट्राफिक प्रहरीले एक सयदेखि दुई सय रुपैयाँ असुली गर्दै आएका छन् । ट्राफिक प्रहरीले ओभरलोड र पुराना मोडलका चल्न नसक्ने मापदण्ड विपरीतको गाडी रहेको भनेर थप ५०० रुपैयाँसम्म असुल्ने गरेको चालकहरू बताउँछन् ।
लाईसेन्स, रोड पर्मिट, बिल्टी लगायतका कागजात देखाऊ भनेर धम्काउँदै कुनै त्रुटी नदेखिए पनि प्रहरीले बिना कुनै रसिद एक सयदेखि दुई सय रुपैयाँ लिने गरेको भारतको चण्डीगढबाट मेडिसिन लिएर आएको भारतीय गाडी नम्बर पी.बी ११ सी. एक्स. ८५२६ का चालक प्रितम सिंह बताउँछन् ।
ड्राईपोर्ट बिटमा मात्रै होईन, परवानीपुरदेखि पथलैसयासम्म बिना कुनै रसिदको एउटा गाडीका भारतीय रुपैयाँ ५ सय भन्दा बढी तिर्नुपरेको अर्को गाडी नम्बर पी.बी ११ सी. एक्स. ३२५६ का चालकले गुनासो गरे । केही सोध्दा प्रहरीले धम्काउँदै केहीले हातपात समेत गर्ने गरेकोले सोही डरले आफूहरू प्रहरीलाई सो रकम दिने गरेको उनीहरुको भनाई छ ।
ओभर लोड मालवाहक गाडीलाई क्षमताभन्दा बढी पाँच टन कम बोकेका गाडीलाई एक हजार ५ सयदेखि दुई हजारसम्म ट्राफिक प्रहरीले जरिवाना र ती पाँच टन भन्दा बढीलाई कारबाहीका लागि यातायात कार्यालय पठाउनु पर्ने हुन्छ । तर ट्राफिक प्रहरीले त्यस्तो केही नगरी थप एक हजार रुपैयाँ लिएर गाडी छोड्ने गरेको स्रोतको दाबी छ ।
प्रहरीले पाँच टन भन्दा बढी ओभर लोडका केही गाडीलाई मात्र कारबाहीका लागी यातायात कार्यालयमा पठाउने गरे पनि अधिकांश ओभरलोड गाडीसँग अवैध असुली गरेर नै छोड्ने गरेको बताइन्छ ।
तलदेखि माथिसम्म सेटिङ्ग
वीरगंजको विभिन्न ठाउँमा राखिएका ट्राफिक बिटमा चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले भन्सारबाट निस्केको मालवाहक गाडीमा कुनै कैफियत नदेखिए पनि प्रत्येक गाडीसँग प्रवेश शुल्कको नाममा रु एक सयदेखि दुई सय रुपैयाँसम्म असुल्ने गर्छ । अहिले वीरगंज भन्सारबाट आयात घटेर दिनहुँ कम्तीमा पनि दुई भन्दा बढी मालवाहक गाडी आयात हुने गरेको वीरगंज भन्सार कार्यालयले जनाएको छ । त्यो अनुसार एउटा प्रहरी बिटबाट दिनहुँ कम्तीमा ३० हजार भन्दा बढी अवैध असुली भइरहेको प्रहरी स्रोतकै दाबी छ ।
यसरी ट्राफिक प्रहरीले ड्राईपोर्ट, परवानीपुर र पथलैया ट्राफिक बिटबाट मात्रै दिनहुँ ९० हजार भन्दा बढीको अवैध असुली गर्ने गरेको स्रोतले जनाएको छ । जुन भारतीय चालकको आरोपले पनि नकार्न सकिंदैन । यसरी विभिन्न ट्राफिक बिटबाट प्रहरीले मासिक २५ लाख भन्दा बढी अवैध असुली गरिरहेको स्रोतको दाबी छ ।
प्रत्येक प्रहरी बिटबाट सङ्कलन हुने अवैध रकम त्यहाँका प्रहरी इन्चार्जले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडा र ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरीक्षक भीम किरण बोगटीलाई पनि बुझाउने गरेको स्रोतको दाबी छ । यस विषय बारे ट्राफिक प्रमुख प्रहरी उपरीक्षक भीम किरण बोगटीले अवैध असुली हुने गरेको कुरा गलत भएको बताए । तर चालकसँग बिना रसिद पैसा लिएको भन्दा आफूलाई फुर्सद भएको बेला आएर बुझ्ने प्रतिक्रिया दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडा आफू त्यस बारे बुझ्ने भन्दै केही बोल्दैनन् ।संभार : गोठालो खबर






