कांग्रेस सांसद चौरसिया द्वारा पर्सामा आँधीबाट भएको नोक्सानी प्रति क्षतिपूर्ति माग, पानीको स्रोत संरक्षण गर्न आग्रह
कांग्रेस सांसद चौरसिया द्वारा पर्सामा आँधीबाट भएको नोक्सानी प्रति क्षतिपूर्ति माग, पानीको स्रोत संरक्षण गर्न आग्रह

काठमाडौं २९ जेष्ठ
नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले पर्सा जिल्लामा आँधी, हावाहुरी, असिना, पानीबाट भएको क्षतिबारेमा जानकारी गराउँद राहत र क्षतिपूर्तिको माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकिस्मक समय लिएर बोल्दै सांसद चौरसियाले पर्सा जिल्लामा भएको क्षतिका विषयमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले कुनै पनि ध्यान नदिएको गुनासो गरे । उनले छिटोभन्दा छिटो प्रभावित जनतालाई राहतको माग गरेका छन् ।
उनले भने, ‘गएको बुधबार राति १२ बजे कमसेकम डेढ सय किलोमिटरको स्पिडमा पर्सा जिल्लाको विभिन्न ठाउँहरूमा आँधी तुफान जस्तो अवस्था थियो । पानी र असिना पनि थियो । दर्जनौं गाउँको सयकडौं घरको छानो उडाएको छ । बालिनाली पनि नष्ट भएको छ । बगैचनाका रुख र बिजुलीको पोलहरू ढलेका छन् । बाटो अबद्ध भएका छन् ।’
‘देशमा तीन वटा सरकार छ । कुनै पनि सरकारको पीडितहरूमा क्षतिपूर्ति र राहत दिने कार्य भएको छैन । पर्सामा राहत र क्षतिपूर्तिको व्यवस्था होस्’, सांसद चौरसियाले भने ।
‘मधेशमा खानेपानीको धाराहरू सुक्दै गएको छ । सरकारले कुनै पनि ध्यान दिएको छैन । स्थानीय तह र प्रदेश सरकार कानमा कपास हालेर सुतेको छ । केन्द्र सरकारले खानेपानीको स्रोत सुक्दै गएकोमा ध्यान दिनुपर्छ’, उनले भने ।





