बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न भारतिय मन्त्री नेपाल आउँदै

बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न भारतिय मन्त्री नेपाल आउँदै

काठमाडौं : तनहुँमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुको अवस्था बुझ्न भारत सरकारले एक मन्त्रीलाई नेपाल पठाउने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे केहीबेरमा विशेष विमानमार्फत काठमाडौं आउन लागेकी हुन्।

इण्डियन एक्सप्रेसका अनुसार दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय नागरिकको शव यही विशेष विमानबाट लगिनेछ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा केन्द्रीय गृहमन्त्री अमित शाहले शव फिर्ता लैजान भारतीय वायुसेनाको विशेष विमानको व्यवस्था र समन्वयका लागि विशेष अधिकारी नियुक्त गरेको जनाइएको छ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार दिउँसो सडकबाट करिब २०० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए।

घाइते १६ यात्रुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। भारतीय दूतावासका चिकित्सकको निगरानीमा सबै घाइतेको उपचार भइरहेको हो।

दुर्घटनामा परेका सबै महाराष्ट्रको जलगाउँका स्थानीय हुन् । नेपाल आउन लागेकी मन्त्री खडसेको गाउँ पनि जलगाउँ भएको बताइएको छ।

चितवनस्थित भरतपुर अस्पतालमा सबै शवको पोष्टमार्टम भइरहेको छ। पोष्टमार्टमपछि मन्त्रीसँगै शव भारत पठाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।