कालीकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ठ प्रसाद कलवारका बुबा पक्राउ
कालीकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ठ प्रसाद कलवारका बुबा पक्राउ

बीरगञ्ज २६ असोज
पर्सा प्रहरीले कालिकामाइ गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताका बुवा सुरेश कलवारलाई लागुऔषध अफिमसहित पक्राउ गरेको छ। सुरेश कलवारलाई शनिबार बिहान बीरगञ्ज नगरपालिका वडा नम्बर १०, आदर्शनगरबाट करिब ४३३ ग्राम अफिमसहित पक्राउ गरिएको हो।
पर्सा प्रहरीले दिएको जानकारीअनुसार, विशेष सूचनाका आधारमा सुरेश कलवार र भारती प्रसाद यादवलाई पक्राउ गरिएको हो। उनीहरूलाई ना ४८ प ३७६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकलको सिटमुनी लुकाइएको अवस्थामा ४३३ ग्राम अफिम फेला परेको थियो।
पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार यो घटना शंकास्पद रहेको र थप अनुसन्धान भइरहेको छ। उनले भने, “हामीले सूचना पाएपछि टोलीले छानबिन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। तर, सुरेश कलवारले आफैंले अफिम बोकेका थिए वा होइनन् भन्ने अझै स्पष्ट भइसकेको छैन। त्यसैले अनुसन्धानलाई गम्भीरताका साथ अघि बढाइरहेका छौं।”






