भारतको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
भारतको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास

काठमाडौं २३ मंसिर
तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माण हेतु तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
‘नेपाल भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोग नेरु. ३.५४ करोड लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिनेछ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुई तल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ ।
यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो। अझ तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।
सांसद, आठराई गाउँपालिकाका अध्यक्ष तथा राजनीतिक प्रतिनिधिहरुले नेपालका जनताको उत्थानमा भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । यो स्वास्थ्य चौकीले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् ।
यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये खाम्लालुङ स्वास्थ्य चौकीलाई एउटा एम्बुलेन्ससहित कोशी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यी परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ । संभार: मधेश वाणी





