शान्ति सुरक्षाको माग गर्दै कवाड व्यवसायीले गृहमन्त्री लेखकलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले शान्ति, सुरक्षाको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् । शान्तिपुर्ण रुपमा आफ्नो पेशाव्यवसाय गर्न पाउनुपर्ने माग गृहमन्त्री लेखकसंग उनीहरुले गरेका हुन् ।
आज गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले कानून विपरित काठमाडौं महानगरपालिकाले गरिरहेको तोफोड, धरपकड तथा मनोमानी काम अन्त्य गर्नुपर्ने जोडदार माग गरेका छन् ।
कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले ज्ञापनपत्र बुझाउदै आफूहरुलाई पेशाव्यवसायबाट धपाउन खोजिएको बताउदै सरकारको तर्फबाट शान्ति, सुरक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गृहमन्त्री लेखकले आफूले शान्ति, सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ’ कवाड व्यवसाय समाजले गृहमन्त्री लेखकलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकाले कानून विपरित आफूहरुलाई दुख दिने, तोडफोड गर्ने र व्यवसायबाट धपाउँन खोजेको अध्यक्ष गुप्ताले जनाएका छन् । यस अघि समितिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई समेत एक ज्ञापनपत्र बुझाउदै शान्ति, सुरक्षाको माग गरेको थियो ।
काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानून विपरित कवाड व्यवसायीलाई दुख दिने र अराजक गतिविधि गर्दै डोजरले घर पनि भत्काउने गरेकाले उनीहरुले शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
कानून विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायीलाई निरन्तर दुख दिएपछि सुरुमा आम जनता पार्टी (आजपा)ले कवाड व्यवसायीलाई साथ दिएको थियो । आजपा काठमाडौंमा महानगरको बिरुद्धमा पटक पटक आन्दोलन समेत गर्दै आएको छ । आजपा अध्यक्ष प्रभु साहले कवाड व्यवसायीकोमा महानगरको डोजर चल्यो भने अब काठमाडौं महानगरमा ‘प्रभु साहको डोजर चल्ने’ चेतावनी दिएका थिए । त्यस यता महानगर र मेयर बालेनको गलत कार्यशैलीका बिरुद्ध कवाड व्यवसायीको आन्दोलनमा आजपाले निरन्तर साथ र सहयोग गर्दै आएको छ ।
अन्य दलहरुको समेत समर्थन कवाड व्यवसायीले जुटाउदै छन् । सोही क्रममा गत मंगलबार कवाड व्यवसायीले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाउदै शान्ति, सुरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जसपाले कवाड व्यवसायीमाथि भइरहेको गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसपाले बुधबार विज्ञप्ति जारी गर्दै कवाड व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गर्नु निन्दनीय कार्य रहेको भन्दै यस्ता कार्य बन्द गरी व्यवसायिक सुरक्षाको वातावरण बनाउन सरकारसंग माग गरेको छ ।
महानगरले कवाड व्यवसायीलाई गालीगलौज र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु अत्यन्त गलत र नियन्दनीय कार्य भएकोले यस्ता कार्यलाई यथाशीघ्र बन्द गरी कवाड व्यवसायीहरुको सुरक्षाका साथै स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भौतिक अधिकारको प्रत्याभूति गराउन जसपा सरकारसँग माग गर्दछ’, जसपा प्रवक्ता मनिषकुमार सुमनद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
देशभर सञ्चालिन उद्योगलाई आवश्यक कच्चापदार्थ उपलब्ध गराउनाका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा हाल कवाड व्यवसायमा निम्न आयस्तर भएका व्यक्तिहरु आबद्ध रहेको र खासगरी अधिकांश मधेशी समुदायको उपस्थिति रहेको यस क्षेत्रका व्यवसायी वर्षौंदेखि कानुनसम्मत तवरले काठमाडौँ उपत्यकामा व्यवसाय तथा सेवा गर्दै आएको र लाखौँलाखलाई रोजगार प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।