बाराको ईटीयाहीमा २२ गते देखि हुने महायज्ञको पूर्व सन्ध्यामा निकालियो बृहत् शोभा यात्रा

वीरगंज । बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ५ ईटियाहीमा श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ–२०८१ तथा श्री शिव शक्ति कोटी होम महायज्ञ प्रचार प्रसारको लागि शनिवार वृहत शोभा यात्रा निकालिएको छ ।
नेशनल मेडिकल कलेज भन्दा दक्षिण तर्फ हुन लागेको महायज्ञ स्थलबाट सुरु भएको शोभा यात्रा बसपार्क, घण्टाघर, आदर्शनगर, बिर्ता, ईनर्वा, नगवा लगायत वीरगंजका मुख्य स्थानहरु परिक्रमा गरी पुनः महायज्ञ स्थलमा पुगेर समापन भएको थियो ।
महायज्ञ माघ २३ गते देखि सुरु भई फागुन १५ गतेसम्म सञ्चालन हुने जनाईएको छ । नयाँ तथा युवा पुस्तालाई सनातन हिन्दु धर्मको महत्व, विशेषता र महानताको बारेमा जानकारी गराउनुका साथै नेपाल सहित विश्वभरि शान्ति र समृद्धि स्थापनाका लागि यो महायज्ञ आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक राज सर्राफले बताए ।
यज्ञमा धार्मिक आस्थाको प्रतीक स्वरूप सांस्कृतिक झाँकी, भजन–कीर्तन, प्रवचन तथा विशेष पूजापाठ हुने र मनोरञ्जनका लागि टावर झुला, मौतकुवा, सर्कस, नाव झुला, डैनसिग झुला लगायतको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो महायज्ञमा विभिन्न धार्मिक आस्था झल्किने १ हजार ११ वटा मुर्तीहरु बनाईएको छ ।
महायज्ञले सनातन हिन्दु धर्मको संरक्षण, प्रवद्र्धन तथा आध्यात्मिक चेतनाको जागरण गर्दै धार्मिक एकता सुदृढ गर्ने विश्वास आयोजक समितिले व्यक्त गरेको छ ।
शोभा यात्रामा ईटीयाही, भिस्वा, भेडीहारी, नगवा लगायत अन्य स्थानका हजारौँको सङ्ख्यामा श्रद्धालु तथा भक्तजनहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।