वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमका लागि मन्त्री यादव भारत प्रस्थान

वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमका लागि मन्त्री यादव भारत प्रस्थान

काठमाडौँ, १७ फागनु

खानेपानीमन्त्री प्रदीप यादव आज शनिबार छिमेकी मुलुक भारतको औँपचारिक भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।
भारतको राजधानी नयाँ दिल्ली स्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव आज भारत प्रस्थान गर्नु भएको खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागि हुन मन्त्री यादव आज २ बजे भारत प्रस्थान गर्नु भएको हो । उक्त समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु हुने छ ।”
भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौता पत्रमा हस्ताक्षर हुने जनाईएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको सहसचिव ई श्रेष्ठले बताउनुभयो ।
उक्त सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने जनाइएको छ । उक्त सम्झौताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।
यसैगरी भारतको नीति आयोगसँग समेत छलफल गर्ने र त्यहाँका केही राम्रा खानेपानी आयोजनाको फिल्ड भ्रमण समेत गरिने कार्यक्रम पनि तय भएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।