थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सम्पन्न
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सम्पन्न

काठमाडौँ, २१ फागुन
काठमाडौँको थापाथली चोक नजिक मङ्गलबार बिहान एका एक फुटेको मेलम्चीको मुख्य पाइपलाईन मर्मतको कार्य आज बिहान मात्रै सम्पन्न भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाईन मङ्गलबार दिउँसोदेखि मर्मत कार्य सुरु गरी आज बुधबार बिहान ४ बजे मात्रै मर्मतको काम सम्पन्न गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इञ्जिनियर प्रकाश बरालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पाइप मर्मत र जडानको काम बिहान आज ४ मात्रै काम सकियो । चुहावट परीक्षण गर्न भल्भ र वाशआउट भल्भको व्यवस्था गरिएको छ । उक्त कार्यको सफल परिक्षण पश्चात आजै पानी वितरण पुन: सुचारु गर्नेछौँ ।”
खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिनु भएको छ ।
“के कारणले पाइप फुटेको हो । त्यसको एकिन कारण पत्ता लगाउन छानविन गरी अब उपरान्त यस्ता घटना दोहरिन नदिनुहोला,” मन्त्री यादवले भन्नुभयो ।
मङ्गलबार बिहानै उक्त पाइप फुट्दा थापाथली क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडक समेत अवरुद्ध भएको थियो । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका मेडिकल, रेष्टुरेन्ट, घर र पसलहरुमा पसेको थियो ।
यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।






