अस्थायी प्रहरी पोस्ट भकुवा, पर्सामा अवैध रकम असुलीको गम्भीर आरोप भिडियो सहित
अस्थायी प्रहरी पोस्ट भकुवा, पर्सामा अवैध रकम असुलीको गम्भीर आरोप भिडियो सहित
वीरगंज २९ मंसिर
पर्सा जिल्लाको अस्थायी प्रहरी पोस्ट भकुवामा कार्यरत इन्चार्ज प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) प्रभु प्रसाद साहमाथि व्यापारीहरूबाट अवैध रूपमा मासिक रकम असुली गराउँदै आएको गम्भीर आरोप लागेको छ।
स्थानीय व्यापारीहरूका अनुसार प्र.स.नि. साहले आफ्नै आफन्त पर्ने प्रहरी सहायक हवल्दार (प्र.स.ह.) गोपाल प्रसाद साहलाई “घुमुवा” बनाई व्यापारीहरूबाट महिनावारी रकम उठाउन लगाउने गरेका छन्। असुली गरिएको रकमबाट जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखलाई प्रति महिना रु. ४०,००० (चालिस हजार) बुझाउनु पर्ने भन्दै दबाब दिने गरिएको बताइएको छ। सोही क्रममा अन्य महिनाभन्दा मङ्सिर महिनाको महिनावारीमा थप रु. २,००० वृद्धि गरी रकम असुली गराइएको तथ्य व्यापारीहरूबाट बुझिन आएको छ।
व्यापारीहरूका अनुसार रकम असुलीको क्रममा जिल्ला प्रहरी कार्यालय प्रमुखको नाम जोड्दै चरित्र हत्या हुने खालका अभिव्यक्ति प्रयोग गरिएको र “म यही एरियाको एस.पी. हुँ” भन्दै प्र.स.नि. साहले व्यापारीहरूलाई धाकधम्की दिने गरेको आरोप छ।
यसैबीच, प्रहरी कार्यालयको सेन्ट्री ड्युटीमा खटिएका प्रहरी जवान शम्भु प्रसाद यादवले बाटोमै उभिएर प्र.स.नि. साहको उपस्थितिमा “ड्युटी खर्च” को नाममा रकम असुली गरेको दृश्य प्रत्यक्ष भिडियोमा देखिएको बताइएको छ। बीच बाटोमै घेराबन्दी गरी रकम असुली गरिएको देखेपछि स्थानीयवासीहरू प्रहरीप्रति आक्रोशित बनेका छन्। स्थानीयहरूको भनाइ अनुसार उक्त घटनासम्बन्धी भिडियो स्रोतहरू उनीहरूसँग सुरक्षित छन्।
त्यस्तै, प्र.स.नि. साहका आफन्त प्रहरी सहायक हवल्दार गोपाल प्रसाद साहले पनि दुई जना व्यापारीहरूसँग रु. २,००० का दरले रकम असुली गरेको दृश्य भिडियोमा प्रत्यक्ष देखिएको स्थानीयले दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय प्रमुखको चरित्र हत्या हुने गरी नाम जोडिएको विषय संवेदनशील भएको भन्दै उक्त सामग्री सामाजिक सञ्जालमा सार्वजनिक नगरी प्रत्यक्ष रूपमा ह्वाट्सएपमार्फत सम्बन्धित निकायलाई पठाइएको बताइएको छ। घटनाबारे निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग स्थानीयवासी तथा व्यापारीहरूले गरेका छन्।






