विष्णुपुरमा परम्परागत कोशी मेला यसवर्षदेखि दुई दिने हुने

विष्णुपुरमा परम्परागत कोशी मेला यसवर्षदेखि दुई दिने हुने

सप्तरी १९ पुस

मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–७ मा विगत करिब ३०–३५ वर्षदेखि निरन्तर रूपमा लाग्दै आएको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत कोशी मेला यसवर्षदेखि दुई दिनसम्म आयोजना गरिने भएको छ।
विष्णुपुर गाउँका युवा, बुद्धिजीवी तथा भद्रभलादमीहरूको संयुक्त छलफलपछि मेलाको अवधि विस्तार गर्ने निर्णय गरिएको हो। समयसँगै गाउँको सामाजिक चेतना, सहभागिता र सांस्कृतिक संरक्षणप्रतिको प्रतिबद्धता बढ्दै गएकाले मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउन दुई दिने बनाउने निर्णयमा पुगिएको आयोजक पक्षले जनाएको छ।
स्थानीय संस्कार, परम्परा र आपसी सद्भावको प्रतीकका रूपमा रहेको कोशी मेलाले वर्षौंदेखि गाउँका बासिन्दालाई एकताको सूत्रमा बाँध्दै आएको छ। मेलामा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी हुँदै आएको छ, जसले नयाँ पुस्तालाई आफ्नै मौलिक पहिचानसँग जोड्ने काम गरिरहेको छ।
मेलाको अवधि बढेसँगै यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। आयोजकहरूले मेलालाई मर्यादित, सभ्य तथा सबै वर्गका नागरिकको सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयवासीहरूका अनुसार कोशी मेला केवल मनोरञ्जनको माध्यम मात्र नभई पुस्तौँदेखि चल्दै आएको अमूल्य सांस्कृतिक धरोहर हो, जसको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।