पर्सा–२ मा नेपाल जनता पार्टीका उम्मेदवार संतोष पटेलद्वारा व्यापक घरदैलो कार्यक्रम
पर्सा–२ मा नेपाल जनता पार्टीका उम्मेदवार संतोष पटेलद्वारा व्यापक घरदैलो कार्यक्रम

वीरगंज १२ माघ
पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत रामपुर, जसौली, पञ्चरुखी, बहुअर्वा, नगरदहा र बहुवरी क्षेत्रमा आज नेपाल जनता पार्टीका उम्मेदवार संतोष पटेलले व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार पटेलले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका सामाजिक, धार्मिक, आर्थिक तथा राजनीतिक समस्याहरूबारे जानकारी लिएका थिए। स्थानीय जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, धार्मिक सहिष्णुता तथा आधारभूत पूर्वाधारको अभावजस्ता विषयहरू उठाएका थिए।
घरदैलो अभियानमा बोल्दै पटेलले सबै धर्म, भाषा र समुदायबीच आपसी सद्भाव कायम गर्दै समावेशी विकास, किसानमैत्री नीति, युवाका लागि रोजगारी र पारदर्शी शासन प्रणाली आफ्नो प्रमुख राजनीतिक एजेन्डा रहेको बताए। उनले जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै “राजनीति सेवाको माध्यम हुनुपर्छ” भन्ने धारणा राखे।
कार्यक्रममा स्थानीय अगुवा, युवा, महिला तथा विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले परिवर्तनको आशा गर्दै नेपाल जनता पार्टीप्रति विश्वास व्यक्त गरेका थिए।
घरदैलो कार्यक्रमको क्रममा समर्थकहरूले “हर हर कमल, घर घर कमल” भन्ने नारासमेत लगाएका थिए, जसले क्षेत्रभरि चुनावी माहोललाई थप उत्साहित बनाएको देखिएको छ।






