बीरगंजस्थित भारतको महावाणिज्य दूतावासद्वारा ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा सम्पन्न
बीरगंजस्थित भारतको महावाणिज्य दूतावासद्वारा ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा सम्पन्न

बीरगंज १२ माघ
भारतको महावाणिज्य दूतावास, बीरगंजले मिति जनवरी २६, २०२६ मा आफ्नो परिसरभित्र भारतको ७७औँ गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। कार्यक्रमको सुरुआत महावाणिज्यदूत श्री डी. एस. मीनाज्यूले राष्ट्रिय झण्डा फहराएर गर्नुभएको थियो। त्यसपश्चात उहाँले भारतका सम्माननीय राष्ट्रपति महोदयाको सन्देश वाचन गर्नुभयो।
समारोहमा विशेष शिक्षा विद्यालयसहित १२ वटा विभिन्न विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको मनमोहक प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मोहित बनाउनुका साथै देशभक्तिको उच्च भावना र मनोरञ्जन प्रदान गरेको थियो।
कार्यक्रममा बीरगंज महानगरपालिकाका मेयर श्री राजेशमान सिंहज्यू, पूर्व केन्द्रीय मन्त्री, प्रमुख जिल्ला अधिकारीज्यू, सहायक प्रमुख जिल्ला अधिकारीज्यू, प्रहरी उपरीक्षकज्यू, सशस्त्र प्रहरी बलका उपरीक्षकज्यू, बीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिज्यूहरू, कविगण, स्थानीय व्यापारीज्यूहरू, नेपाल–भारत मैत्री संघका प्रतिनिधिज्यूहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाज्यूहरू, विद्यार्थीहरू लगायत विभिन्न क्षेत्रका करिब ५०० जना विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
गणतन्त्र दिवस समारोहसँगै वाणिज्य दूतावास परिसरमा भारतको राष्ट्रिय गीत “वन्दे मातरम्” को १५०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीत प्रदर्शनी पनि आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा विशेष गरी विद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय सहभागिता देखिनुका साथै आम नागरिकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
यस समारोहले नेपाल–भारतबीचको सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।






