युवालाई रोजगारी र निर्णयको केन्द्रमा ल्याउने राजनीति आवश्यक : सुशील साह कानु
युवालाई रोजगारी र निर्णयको केन्द्रमा ल्याउने राजनीति आवश्यक : सुशील साह कानु

वीरगंज २० माख
आज बिहान पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिका–४ डकैला बहुअरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानुले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
संवाद कार्यक्रममा बोल्दै कानुले युवाहरूको मुख्य समस्या बेरोजगारी, अवसरको अभाव र पुरानो राजनीतिक सोच भएको उल्लेख गर्दै अब परिवर्तनमुखी राजनीति अपरिहार्य भएको बताए। उनले भने, “देशको भविष्य युवासँग जोडिएको छ, तर युवालाई नीति निर्माणको केन्द्रबाट बाहिर राखिँदा समस्या झन जटिल बनेको छ।”
कानुले रास्वपाको प्राथमिकता सुशासन, पारदर्शिता र युवाकेन्द्रित नीतिमार्फत देशमै रोजगारी सिर्जना गर्ने रहेको स्पष्ट पारे। शिक्षा, सीपमूलक तालिम, उद्यमशीलता र प्रविधिमा आधारित अवसर विस्तार गरेर युवालाई विदेशिन नपर्ने वातावरण बनाइने उनले बताए।
कार्यक्रममा सहभागी युवाहरूले बेरोजगारी, महँगी र स्थानीय तहमा अवसर नपाएको गुनासो राख्दै नयाँ सोच र इमानदार नेतृत्वको अपेक्षा व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बहुदरमाई नगरपालिकाका नगर अध्यक्ष चन्दन यादवसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।






