बहुदरमाई–३ मा कांग्रेसको वडा स्तरीय अगुवा भेला सम्पन्न, चुनावी रणनीतिमा जोड
बहुदरमाई–३ मा कांग्रेसको वडा स्तरीय अगुवा भेला सम्पन्न, चुनावी रणनीतिमा जोड

वीरगञ्ज २० माघ
नेपाली कांग्रेस बहुदरमाई नगरपालिका वडा नम्बर–३ नगरदाहाँ कमिटीको आयोजनामा वडा स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ। वडा सभापति जापाल साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसिया प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मी विशिष्ट अतिथि रहेका थिए। साथै मधेस प्रदेश सरकारका कृषि मन्त्री श्याम पटेल, नेपाली कांग्रेसका उप–सभापति अशोक कुमार गुप्ता, क्षेत्रीय सभापति मोहम्मद साहबुद्दिन, महाधिवेशन प्रतिनिधि तथा प्रदेश कार्य समिति सदस्य एवं पूर्वमेयर नितेन्द्र साहले आ–आफ्नो मन्तव्य राखेका थिए।
वक्ताहरूले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण, घरदैलो अभियानलाई तीव्रता दिनुका साथै मतदातासँग समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बुथ सभापति तथा अगुवा नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आउँदो निर्वाचन सन्दर्भमा आफ्ना राय, सुझाव र प्रतिबद्धता व्यक्त गरेका थिए।
भेलाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन वडा तहदेखि नै सक्रिय रूपमा परिचालित हुनुपर्ने निष्कर्ष निकालेको जनाइएको छ।






