घरदैलोदेखि सत्सङ्गसम्म नेपाल जनता पार्टीको सक्रियता, “हर हर कमल घर घर कमल” नारासहित मत माग्दै
घरदैलोदेखि सत्सङ्गसम्म नेपाल जनता पार्टीको सक्रियता, “हर हर कमल घर घर कमल” नारासहित मत माग्दै

पर्सा २२ माघ
पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. २ बैरियाविर्ता र सिस्याडीमा आज नेपाल जनता पार्टीका तर्फबाट घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। सो क्रममा पार्टीका नेता तथा कार्यकर्ताले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आगामी निर्वाचनमा कमल छापमा मतदान गर्न आग्रह गरेका थिए।
घरदैलो कार्यक्रममा “एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता, हर हर कमल घर घर कमल” नारासहित मतदातासँग प्रत्यक्ष संवाद गरिएको थियो। कार्यक्रममा युवा, महिला तथा विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्य, सुशासन, विकास र सुरक्षा जस्ता एजेन्डा प्रस्तुत गरिएको थियो।
यसैक्रममा पर्सागढी नगरपालिका वडा नं. ५ पञ्चरुखीमा कावरीया बाबा ज्यूहरूसँग सत्सङ्ग कार्यक्रमसमेत सम्पन्न गरिएको जनाइएको छ। कार्यक्रममा सहभागीहरूले स्वाभिमान रक्षा, किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रको प्रोत्साहन तथा रोजगारी सिर्जनामार्फत क्षेत्रीय समृद्धि ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाल जनता पार्टीका प्रतिनिधिहरूले स्थानीयवासीसँग आशीर्वाद तथा सहयोग माग्दै आगामी निर्वाचनमा कमल छापमा मतदान गर्न अपिल गरेका छन्। कार्यक्रममार्फत पार्टीले आफ्ना राजनीतिक एजेन्डा र विकास योजनाबारे जानकारी गराउँदै मतदातासँग सम्बन्ध सुदृढ गर्ने प्रयास गरेको जनाएको छ।






