“घर–घर कमल” नारासहित वीरगञ्ज–२८ मा नेपाल जनता पार्टीको घरदैलो
“घर–घर कमल” नारासहित वीरगञ्ज–२८ मा नेपाल जनता पार्टीको घरदैलो

वीरगञ्ज २५ माघ
पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २८ का बगही, इनरुवा र सित्वार क्षेत्रमा आज नेपाल जनता पार्टीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। “एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता”, “हर हर कमल, घर–घर कमल” लगायतका नारासहित आयोजित कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीले आफ्ना राष्ट्रिय तथा चुनावी एजेण्डा प्रस्तुत गरेको जनाएको छ।
घरदैलोका क्रममा पार्टी प्रतिनिधिहरूले युवापुस्ता, महिला तथा विद्यार्थीलाई उच्च सम्मान दिने, आर्थिक विकासलाई तीव्रता दिने, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापनाको अवधारणालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्य सुधार, सुशासन, विकास र सुरक्षा सुनिश्चितता तथा राष्ट्रिय स्वाभिमानको रक्षा प्रमुख प्राथमिकतामा रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा किसानलाई उच्च प्राथमिकता दिने, खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जनामार्फत क्षेत्रीय समृद्धि हासिल गर्ने लक्ष्य पनि सार्वजनिक गरिएको थियो। पार्टीका स्थानीय नेताहरूले मतदातालाई आगामी निर्वाचनमा नेपाल जनता पार्टीको कमल छापमा मतदान गरी साथ, सहयोग र आशीर्वाद दिन आग्रह गरेका थिए।
घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। स्थानीय बासिन्दासँगको संवादमा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा व्यापक छलफल भएको बताइएको छ।





