कामना सेवा विकास बैंकद्वारा राजविराजमा विद्यार्थीलाई मेटल डेस्क–बेन्च सहयोग
कामना सेवा विकास बैंकद्वारा राजविराजमा विद्यार्थीलाई मेटल डेस्क–बेन्च सहयोग

राजविराज २७ माघ
कामना सेवा विकास बैंक लिमिटेड, राजविराज शाखाले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–४ स्थित श्री जनता माध्यमिक विद्यालय, वेल्ही चपेना का विद्यार्थीहरूलाई मेटल डेस्क–बेन्च सहयोग गरेको छ।
विद्यालय परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका राजविराज शाखा प्रमुख सूर्य नारायण मुखियाले गुणस्तरीय शिक्षा समृद्ध समाजको आधार भएको उल्लेख गर्दै शिक्षाको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मंडलले विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण विद्यार्थीहरूलाई पठन–पाठनमा समस्या हुँदै आएको अवस्थामा बैंकको सहयोग अत्यन्तै सराहनीय रहेको बताउनुभयो। उहाँले निजी क्षेत्र र स्थानीय तहबीचको सहकार्यले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।
त्यस्तै वडा अध्यक्ष अशोक कुमार साहले मेटल डेस्क–बेन्च सहयोगले विद्यार्थीहरूलाई व्यवस्थित र सहज वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार साहले लामो समयदेखि डेस्क–बेन्च अभाव झेलिरहेको विद्यालयमा बैंकको सहयोगले कक्षाकोठा व्यवस्थापन तथा सिकाइ वातावरणमा सकारात्मक परिवर्तन आउने बताउनुभयो।
कार्यक्रममा बैंकका कर्मचारीहरू दुर्गा धोज अधिकारी, रत्न प्रसाद यादव र मो. इमरान लगायतको उपस्थिति रहेको थियो। स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन तथा अभिभावकहरूले बैंकको पहलप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको नियमित उपस्थिति, सिकाइमा रुचि तथा समग्र शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
सामुदायिक विद्यालय सुदृढीकरणमा निजी क्षेत्रको सक्रिय सहभागितालाई उदाहरणीय मानिएको यस सहयोगले स्थानीय स्तरमा शिक्षा प्रवर्द्धनका लागि नयाँ उत्साह थपेको छ।






