रौतहटमा एमाले र जसपाका वार्ड अध्यक्षद्वारा पार्टी परित्याग, राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश
रौतहटमा एमाले र जसपाका वार्ड अध्यक्षद्वारा पार्टी परित्याग, राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश

प्रेमचन्द्र झा /फाल्गुन ०२ रौतहट
मौलापुर नगरपालिकामा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
मौलापुर नगरपालिका–५ का नेकपा एमालेका वार्ड अध्यक्ष चन्द्रशेखर साहले आजदेखि औपचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन्। लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका साहले बदलिँदो राजनीतिक परिवेश र वैकल्पिक शक्तिको आवश्यकता महसुस गर्दै रास्वपा रोजेको बताएका छन्।
त्यसैगरी मौलापुर नगरपालिका–३ का पूर्व वार्ड अध्यक्ष बिरबल राय यादवले पनि जनता समाजवादी पार्टी, नेपाल परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्। यादवसँगै अन्य विभिन्न राजनीतिक दलमा आवद्ध स्थानीय नेता तथा कार्यकर्ताहरूले समेत रास्वपा रोजेका छन्।
नवप्रवेशी नेताहरूलाई एक कार्यक्रमका बीच रास्वपाका जिल्ला तथा नगरस्तरीय नेताहरूले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै उनीहरूले देशमा सुशासन, पारदर्शिता र विकासका लागि रास्वपा नै उपयुक्त विकल्प भएको दाबी गरे।
यस घटनालाई रौतहटको स्थानीय राजनीतिमा महत्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ। पछिल्लो समय जिल्लामा रास्वपाप्रति आकर्षण बढ्दो देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।





