रघुनाथपुरमा एमालेको शक्ति प्रदर्शन : सयौँ कार्यकर्ता प्रवेश, रिमा यादवको जित सुनिश्चित गर्ने दाबी
रघुनाथपुरमा एमालेको शक्ति प्रदर्शन : सयौँ कार्यकर्ता प्रवेश, रिमा यादवको जित सुनिश्चित गर्ने दाबी

वीरगञ्ज ६ फागुन
पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ७ रघुनाथपुरमा आयोजित कार्यक्रममा सयौँको संख्यामा विभिन्न दल त्याग गरी कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य विजय सरावगीले टीका लगाएर औपचारिक स्वागत गरेका थिए।
एमालेमा प्रवेश गर्नेहरूमा वडा नं. ७ का पूर्व वडा अध्यक्ष रामजी साह तेली लगायत स्थानीय अगुवाहरू रहेका छन्। कार्यक्रममा करिब एक सयभन्दा बढी महिलाको उल्लेखनीय सहभागितासहित एमालेमा आबद्धता जनाइएको आयोजकले जनाएको छ।
कार्यक्रममा पर्सा क्षेत्र नं. २ की एमाले उम्मेदवार रिमा यादवको विशेष उपस्थिति रहेको थियो। सम्बोधनका क्रममा उनले रघुनाथपुरवासीको उत्साह र समर्थनले आफू थप जिम्मेवार बनेको बताइन्। “जनताको विश्वास र साथले नै वास्तविक परिवर्तन सम्भव हुन्छ। तपाईंहरूले देखाएको भरोसालाई हामी जितमा बदल्नेछौं,” उनले भनिन्।
उनले विकास, सुशासन र समावेशी सहभागितालाई आफ्नो मुख्य प्राथमिकता रहने स्पष्ट पार्दै पर्सा क्षेत्र नं. २ मा दीर्घकालीन तथा स्थायी विकासका योजनाहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एमाले प्रदेश उपाध्यक्ष बिचारी यादव, असलम अन्सारी, शिव पटेल, बहुदरामाई नगरपालिकाका मेयर सिंहासन साह तेली लगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले आसन्न निर्वाचनमा रिमा यादवलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै एमालेप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको दाबी गरेका छन्।





