जनमनोविज्ञानमा के–के देखियो? जे–जे देखियो त्यही नै निर्वाचन अध्ययनमा

जनमनोविज्ञानमा के–के देखियो? जे–जे देखियो त्यही नै निर्वाचन अध्ययनमा

(२०८२ माघ २९ देखि फागुन ८ सम्मको स्थलगत अध्ययनमा आधारित विश्लेषण)

डा.विजय दत्त 

 

२०८२ सालको निर्वाचन सन्दर्भमा मधेशदेखि कोशीसम्म गरिएको स्थलगत अध्ययनले नेपालको लोकतान्त्रिक संस्कृतिमा देखिँदै गएको परिवर्तन, द्विविधा र द्वन्द्वलाई स्पष्ट संकेत गरेको छ। यो अध्ययन केवल सिटको गणित होइन, जनमानसको मनोविज्ञान, दलगत संरचना, पुस्तागत संक्रमण र राजनीतिक नैतिकताको परीक्षण पनि हो। २५ बुँदालाई समेट्दै समग्र यथार्थपरक विश्लेषण प्रस्तुत छ । यसगछि लुम्बिनी लगायतका प्रदेशहरु समेत जनसमक्ष प्रस्तुत गरिनेछ ।।।।

१. मधेशमा त्रिपक्षीय दंगल

मधेश प्रदेश का ८ वटै जिल्लामा पर्सादेखि सप्तरीसम्मका ३२ सिटमा त्रिपक्षीय प्रतिस्पर्धा देखियो। परम्परागत दुई दलबीचको प्रतिस्पर्धा अब बहुदलीय त्रिकोणीय संघर्षमा रूपान्तरित भएको छ। यसले मत विभाजनको सम्भावना बढाएको छ र सानो मतान्तरले जित–हार निर्धारण हुने अवस्था सिर्जना गरेको छ।

२. जनलहरमा कमी

विगतका निर्वाचनजस्तो स्वतःस्फूर्त जनउत्साह यसपटक कम देखियो। यो वितृष्णा हो वा कडा आचारसंहिताको प्रभाव—दुवैको मिश्रण हुनसक्छ। मतदातामा “पहिले जस्तै भरोसा छैन” भन्ने भाव स्पष्ट छ।

३. आत्मविश्वासमा कमी

“म ठोकुवा जित्छु” भन्ने दाबी कम सुनियो। उम्मेदवारहरू यथार्थपरक देखिए—तर यो आत्मविश्वासको कमी हो कि जनमतप्रतिको सतर्कता, त्यो छुट्याउन बाँकी छ।

४. पुरानै शैलीको जनओसार

केही स्थानबाहेक आमसभा र जनसभामा गाउँ–गाउँबाट मानिस ओसार्ने पुरानै शैली घटेको देखियो। यसले स्वतःस्फूर्त सहभागिता घटेको संकेत दिन्छ।

५. पुस्तागत विद्रोह

घर–घरमा पुरानो पुस्ता र नयाँ पुस्ताबीच मत–विचारको द्वन्द्व छ। युवा पुस्ता मुद्दामुखी र जवाफदेहितामुखी देखियो।

६. जातीय मतको क्षय

जातिको आधारमा मत माग्ने अभ्यास जारी रहे पनि विगतजस्तो प्रभावकारी देखिएन। पहिचानभन्दा प्रदर्शन (performance) महत्त्वपूर्ण बन्न थालेको संकेत हो।

७. प्रश्न गर्ने मतदाता

हरेक स्थानमा जनताले प्रश्न गरे—विशेषतः पुराना दलका नेताहरूलाई। ०७९ मा गरेका वाचा किन पूरा भएनन् भन्ने जिज्ञासा तीव्र थियो।

८. कोशीमा द्विपक्षीय दंगल

कोशी प्रदेश का २८ सिटमा भने मुख्यतः द्विपक्षीय प्रतिस्पर्धा देखियो। यहाँ मत विभाजन कम र सीधा भिडन्त बढी छ।

९. उम्मेदवारको मूल्यांकन

मतदाता उम्मेदवारको व्यक्तिगत छवि, पहुँच, कार्यक्षमता र विगतको योगदानको आधार

मा मूल्यांकन गरिरहेका छन्।

१०. घरदैलो संस्कृति

पहिले कहिल्यै घरदैलो नगरेका नेताहरू अहिले जनतामाझ पुगेका छन्। यसले मतदाताको शक्तिको पुनःस्थापना भएको सन्देश दिन्छ।

११. चुनाव हुन्छ/हुँदैन?

राजनीतिक अस्थिरता र अदालती/संवैधानिक बहसका कारण अझै केही स्थानमा चुनाव हुन्छ कि हुँदैन भन्ने शंका कायम छ।

१२. प्रतीकात्मक व्यवहार

उम्मेदवारहरू जनताको घरमा रोटी पकाउने, खेतमा हलो जोत्नेसम्मका गतिविधि गर्दै छन्। यो जनसम्पर्क हो कि प्रतीकात्मक प्रदर्शन—मतदाताले छुट्याइरहेका छन्।

१३. अपूरा वाचा

२०७९ को निर्वाचनमा गरिएका वाचा किन पूरा भएनन् भन्ने प्रश्न सर्वत्र छ। यसले विश्वसनीयताको संकट देखाउँछ।

१४. संगठन तर गतिशीलता छैन

पुराना दलहरूको वडा–वडासम्म संगठन छ, तर ऊर्जा र गतिशीलता कमजोर देखियो। संरचना छ, तर चेतना मन्द छ।

१५. नयाँ दलको उत्साह

नयाँ दलहरूमा पालिकास्तरको संगठन कमजोर भए पनि उत्साह र जनलहर देखियो। यो “भावनात्मक ऊर्जा” दीर्घकालीन संस्थागत शक्तिमा रूपान्तरित हुन्छ कि हुँदैन—हेर्न बाँकी छ।

१६. शान्ति–सुरक्षा

जनभनाइ अनुसार शान्ति–सुरक्षाको चुनौती सामान्य नै छ। तर सीमावर्ती क्षेत्रमा सधैंजसो संवेदनशीलता रहन्छ।

१७. प्रचार सामग्रीमा कमी

ब्यानर, पोस्टर, लाउडस्पीकरको प्रयोग विगतभन्दा कम देखियो। डिजिटल माध्यमतर्फ सरेको संकेत हो।

१८. भ्रष्टाचार मुद्दा

स्थानीय र प्रदेश जनप्रतिनिधिहरूमाथि व्यापक गुनासो छ। भ्रष्टाचार सर्वत्र चुनावी एजेन्डा बनेको छ।

१९. जेन–जी हत्या प्रकरण

हालैका नृशंस घटनाहरूले युवामाझ असन्तोष र आक्रोश बढाएको छ। यसले मतआर्जनमा प्रभाव पार्ने सम्भावना प्रबल छ। सुरक्षा र न्यायको मुद्दा चुनावी विमर्शमा प्रवेश गरेको छ।

२०. मतदान प्रतिशतको आशंका

जनउत्साह घट्दा मतदान प्रतिशत घट्ने हो कि भन्ने चिन्ता छ।

२१. Money, Muscle र Media

अहिलेसम्मको अध्ययनमा प्रत्यक्ष प्रभाव सीमित देखिए पनि अन्तिम चरणमा धन, शक्ति र सञ्चार माध्यमको प्रभाव निर्णायक हुन सक्छ।

२२. सामाजिक सञ्जालको प्रभाव: फेसबुक–टिकटक जस्ता माध्यममा धारणा निर्माण तीव्र छ।

२३. प्रवासी प्रभाव: विदेशमा रहेका युवाहरूको परिवारमार्फत प्रभाव देखिन्छ।

२४. मुद्दामुखी बहसको सुरुवात: विकास, रोजगारी, सुशासन जस्ता एजेन्डामा केही स्थानमा गम्भीर बहस देखियो।

 

२५. गठबन्धनको गणित: केहि स्थानमा राष्ट्रिय स्तरको समीकरणले स्थानीय प्रतिस्पर्धामा जटिलता थपेको छ।

निष्कर्ष

यो निर्वाचन केवल सिटको प्रतिस्पर्धा होइन—विश्वास र विश्वसनीयताको परीक्षा हो। मधेशमा त्रिकोणीय र कोशीमा द्विपक्षीय प्रतिस्पर्धाले फरक–फरक राजनीतिक मनोविज्ञान देखाउँछ। जातीय, परम्परागत र संरचनागत राजनीति क्रमशः मुद्दामुखी र मूल्यांकनमुखी राजनीतितर्फ सर्दैछ।

तर, अन्तिम निर्णय मतदाताको मौन मनोविज्ञानमा लुकेको छ। यदि मतदान प्रतिशत घट्यो भने वितृष्णा गहिरिएको सन्देश हुनेछ; यदि बढ्यो भने जनताले अझै लोकतन्त्रप्रति आशा जोगाइरहेको प्रमाण हुनेछ।

यस अध्ययनले संकेत गरेको छ—नेपालको लोकतन्त्र संक्रमणको अर्को चरणमा प्रवेश गर्दैछ, जहाँ “जनताले प्रश्न गर्छन्, नेताले जवाफ दिनैपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।