घण्टीमा मतदान गर्न सुशील कानुको आग्रह, वीरगञ्जमा घरदैलो अभियान तीव्र
घण्टीमा मतदान गर्न सुशील कानुको आग्रह, वीरगञ्जमा घरदैलो अभियान तीव्र

वीरगञ्ज, १३ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले मंगलबार वीरगञ्ज महानगरपालिका–६ माइस्थान तथा वडा नम्बर ९ घण्टाघर–पानमन्डी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्।
घरदैलोका क्रममा उनले औद्योगिक तथा व्यापारिक सहर वीरगञ्ज लाई कुशासनमुक्त बनाउँदै व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। विभिन्न टोलका मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्न आग्रह गरे।
चार दशकदेखि चल्दै आएको राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको उल्लेख गर्दै कानुले समृद्ध नेपाल निर्माणका लागि नयाँ राजनीतिक संस्कार र इमानदार नेतृत्व आवश्यक रहेको बताए।
“पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद र मन्त्रीहरूको बेवास्ताका कारण विकासले गति लिन सकेन,” उनले भने, “व्यापार–व्यवसाय, पूर्वाधार र सडकको अवस्था जीर्ण छ, अब प्राथमिकताका साथ सुधार गर्नुपर्छ।”
निर्वाचित भएमा संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै योजनाबद्ध विकास अघि बढाइने उनको भनाइ थियो। पर्साको औद्योगिक सम्भावनालाई मध्यनजर गर्दै ठूला विकास आयोजना अघि सार्ने दाबी समेत उनले गरे।





