एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो, मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जीतको आशीर्वाद
एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो, मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जीतको आशीर्वाद

पर्सा १३ फागुन
पर्सा निर्वाचन क्षेत्र नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेय ले मतदाताको घरदैलोमै पुगेर जीतको आशीर्वाद लिँदै चुनावी अभियानलाई तीव्र पारेका छन्।
क्षेत्रका विभिन्न बस्ती र टोलमा आयोजित घरदैलो कार्यक्रममा पाण्डेयले मतदातासँग प्रत्यक्ष संवाद गर्दै एमालेको नीति, सिद्धान्त र विकास एजेण्डाबारे स्पष्ट पारे। उनले स्थिर सरकार, समृद्ध अर्थतन्त्र र दिगो विकासका लागि एमाले अपरिहार्य शक्ति भएको दाबी गरे।
पाण्डेयले पर्सा–३ मा पूर्वाधार विकास, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजना अघि सारे। “जनताको जीवनस्तर उकास्ने स्पष्ट खाका एमालेसँग छ,” भन्दै उनले विगतका उपलब्धि र आगामी कार्ययोजनालाई जोड दिए।
घरदैलोका क्रममा स्थानीयवासीले सडक, खानेपानी, शिक्षा र स्वास्थ्यसम्बन्धी समस्या राखेका थिए। ती विषयलाई प्राथमिकताका साथ संसद् र सरकारसम्म पुर्याउने प्रतिबद्धता पाण्डेयले व्यक्त गरे।
स्थानीय अगुवा, युवा तथा महिला समूहको उल्लेख्य सहभागितासँगै अभियान थप सशक्त बन्दै गएको एमाले नेताहरूको भनाइ छ। आगामी निर्वाचनमा एमालेको चुनाव चिह्नमा मतदान गरी स्थायित्व र विकासको पक्षमा उभिन पाण्डेयले पर्सा–३ का सम्पूर्ण मतदातासँग आग्रह गरेका छन्।






