सिमरामा जसपा नेपालको घरदैलो अभियान तीव्र, बारा–४ का उम्मेदवार सन्जु साहको प्रतिबद्धता
सिमरामा जसपा नेपालको घरदैलो अभियान तीव्र, बारा–४ का उम्मेदवार सन्जु साहको प्रतिबद्धता

सिमरा १३ बारा
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का बारा निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार सन्जु साहले जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत सिमरा क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, सुझाव र अपेक्षा सुने। उनले मधेशको अधिकार, पहिचान र स्वाभिमानको रक्षा जसपा नेपालको मूल एजेन्डा भएको उल्लेख गर्दै संविधान संशोधनमार्फत अधिकार सम्पन्न संघीयता कार्यान्वयन गर्नुपर्ने धारणा राखे।
साहले सिमरा क्षेत्रको विकासका लागि औद्योगिक विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन र समावेशी प्रतिनिधित्वमार्फत मधेशको समृद्धि सम्भव रहेको उनको भनाइ थियो।
“स्थानीय समस्यालाई केन्द्रसम्म पुर्याएर समाधान गर्ने दायित्व मेरो हुनेछ,” उनले भने, “मधेशको सम्मान र समृद्धिका लागि जसपा नेपाललाई बलियो बनाउनु आजको आवश्यकता हो।”
घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। जसपा नेपालले बारा–४ मा आफ्नो जनआधार मजबुत बन्दै गएको दाबी गरेको छ।





