रास्वपाको नेतृत्वमा सरकार बने पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने सुशील कानुको प्रतिबद्धता

रास्वपाको नेतृत्वमा सरकार बने पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने सुशील कानुको प्रतिबद्धता

वीरगञ्ज १६ फागुन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले शनिवार वीरगञ्ज महानगरपालिका–२९ बसडिलवा र बहुदरमाई नगरपालिका–२ सीसीयाडी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन् ।

घरदैलोका क्रममा उनले मतदातासँग भेट गर्दै कुशासन र भ्रष्टाचार अन्त्य गर्न तथा परिवर्तन ल्याउन घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।

पछिल्लो चार दशकदेखि चल्दै आएको राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना गर्ने, जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित रास्वपाले चुनाव लडिरहेको उनको भनाइ थियो । उनले पर्सा क्षेत्रका सबै रास्वपा उम्मेदवारलाई जिताउन मत मागे ।

“पर्सा जिल्लामा देशकै आर्थिक नगरी वीरगञ्ज पर्छ । भौगोलिक तथा कूटनीतिक दृष्टिकोणले पनि यो क्षेत्र महत्त्वपूर्ण छ,” कानुले भने, “तर यहाँबाट निर्वाचित सांसद तथा मन्त्रीहरूले बेवास्ता गर्दा जिल्लाको विकास हुन सकेन । शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था अत्यन्त जीर्ण छ । अघिल्ला प्रतिनिधिहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न मात्र लगानी गरे ।”

निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने कानुले प्रतिबद्धता समेत जनाए । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिई जनताका आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ । “स्थानीय तहदेखि सङ्घीय तहसम्म समन्वय गरी योजनाबद्ध विकास अघि बढाइनेछ,” उनले थपे ।

कृषि क्षेत्रका समस्या औँल्याउँदै उनले किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था मिलाउने र युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने बताए । “युवाले गाउँमै काम पाए भने वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनले भने ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीमा लामो समयदेखि सुधार नभएको गुनासो गरेका थिए। जवाफमा कानुले जनताको आवाज संसद्मा पुर्‍याउने र विकासमा ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

कार्यक्रममा सहभागी स्थानीय युवाहरूले ‘परिवर्तनको समय आएको’ भन्दै रास्वप्रति आकर्षण बढ्दै गएको बताए । ज्येष्ठ नागरिक तथा महिलाहरूले पनि “यसपालि सोचेर मतदान गर्ने र सुशासन तथा जबाफदेहितालाई प्राथमिकता दिने” प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।