निर्वाचन सुरक्षा कडा रौतहटमा श्रीनारायणदल गणद्वारा व्यापक गस्ती तथा निगरानी

निर्वाचन सुरक्षा कडा रौतहटमा श्रीनारायणदल गणद्वारा व्यापक गस्ती तथा निगरानी

प्रेमचन्द्र झा/रौतहट फाल्गुन १७ गते

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले व्यापक सुरक्षा रणनीति अवलम्बन गरेको छ। जिल्लाभर शान्ति सुरक्षा सुदृढ पार्न गणले ठूलो संख्यामा अत्याधुनिक सैनिक सवारी साधनसहित व्यापक गस्ती तथा निगरानी अभियान सञ्चालन गरेको जनाएको छ।

निर्वाचनलाई भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउने लक्ष्यका साथ गणले जिल्लाका सम्पूर्ण संवेदनशील तथा अति संवेदनशील मतदान स्थलहरूमा विशेष निगरानी बढाएको हो। पैदल गस्ती, मोटरसाइकल गस्ती, सवारी गस्ती तथा बख्तरबन्द गाडीमार्फत संयुक्त सुरक्षा परिचालन गरिएको छ। ग्रामीण भेगदेखि सदरमुकामसम्म एकैसाथ सुरक्षा उपस्थिति सुदृढ पारिँदा सर्वसाधारणमा सुरक्षाको अनुभूति बढेको जिल्ला प्रशासन कार्यालय राैतहटले जनाएको छ।
श्री नारायणदल गणले राैतहटका १७ वटै स्थानीय तहमा तैनाथ रहेको छ। गणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी संयुक्त गस्ती तथा चेकजाँच अभियान सञ्चालन गरिरहेका छन। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न संवेदनशील क्षेत्रहरूमा आकस्मिक चेकिङ, सवारी जाँच तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ।उच्च
सुरक्षा स्रोतका अनुसार निर्वाचन अवधिभर २४ सै घण्टा निगरानी प्रणाली सक्रिय रहनेछ। मतदान केन्द्र वरपर भीड व्यवस्थापन, मतदाता सुरक्षाका साथै निर्वाचन सामग्रीको सुरक्षित ओसारपसारमा पनि नेपाली सेनाले सहयोग गर्ने तयारी गरेको छ। आवश्यकता अनुसार द्रुत प्रतिक्रिया टोली समेत तयारी अवस्थामा राखिएको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले पनि निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबै सुरक्षा निकायबीच घनिष्ठ समन्वय भइरहेको बताएका छन। नागरिकलाई कुनै अफवाहमा नपर्न र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन प्रजिअ भुसालले आह्वान गरेका छन।
स्थानीय बासिन्दाले सुरक्षा निकायको सक्रियताले निर्वाचनप्रति विश्वास बढेको बताएका छन्। “सडक–सडकमा सुरक्षा गस्ती देख्दा ढुक्क महसुस भएको छ,” कटहरिया नगरपालिका वडा नम्बर २ का स्थानीय समाजसेवी अनुपलाल साहले प्रतिक्रिया दिए।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउँदै लैजाने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता सुरक्षा निकायले दाबी गरेका छन्। समग्रमा रौतहटमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई सभ्य, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउने तयारी तीव्र पारिएको देखिन्छ। सन्दर्भमा सुरक्षा विश्लेषकहरूले रौतहट जस्तो संवेदनशील जिल्लामा बहु–सुरक्षा संयन्त्रमार्फत गरिएको संयुक्त परिचालनलाई प्रभावकारी रणनीतिका रूपमा व्याख्या गरेका छन्।

खुला सीमा, विगतका निर्वाचन अनुभव तथा राजनीतिक गतिविधिलाई ध्यानमा राखि पूर्वतयारी स्वरूप सुरक्षा उपस्थिति बढाइएको उनीहरूको भनाइ छ।
निर्वाचन अवधिभर सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह तथा उत्तेजनात्मक सामग्री प्रति पनि सुरक्षा निकाय सतर्क रहेको जनाएको छ। साइबर निगरानी र सूचना संकलन संयन्त्रलाई सक्रिय राखिएको तथा शंकास्पद गतिविधि देखिए तत्काल कारबाही गरिने चेतावनी दिइएको छ।
मतदानका दिन मतदान स्थल वरपर निषेधित क्षेत्र घोषणा गरी अनधिकृत भीडभाड, जुलुस वा प्रदर्शन गर्न नदिने तयारी गरिएको छ। मतदान अधिकृत, कर्मचारी तथा पर्यवेक्षकहरूको सुरक्षामा विशेष ध्यान दिइएको छ भने मतदानपश्चात मतपेटिका संकलन र मतगणना स्थलसम्म सुरक्षित ढुवानीका लागि समेत विशेष सुरक्षा योजना बनाइएको हाे।
नेपाली सेनाको श्री नारायणदल गणले आवश्यक परे हवाई निगरानी तथा आकस्मिक उद्धार सहयोगका लागि समेत तयारी अवस्थामा रहेको गणपति विश्वास विष्टले बताए । स्वास्थ्य आपतकालीन अवस्था, प्राकृतिक विपद् वा अन्य आकस्मिक घटनाको सम्भावनालाई मध्यनजर गर्दै वैकल्पिक योजना तयार गरिएको गणपति विष्टले दाबी गरेका छन।
जिल्ला प्रशासन कार्यालयले सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ। शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले सहयोग र समन्वयका लागि आह्वान गरेका छन।
सुरक्षा निकायहरूको कडा सतर्कता, संयुक्त परिचालन र पूर्वतयारीका कारण रौतहटमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने कुरामा स्थानिय मतदाताले विश्वास व्यक्त गरेका छन । निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास भएकाले यसलाई सभ्य, निष्पक्ष र पारदर्शी बनाउन राज्यका सबै संयन्त्रहरू पूर्ण रूपमा सक्रिय देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।