सुगौली टोलमा रास्वपा उम्मेदवार सुशील कानुको उत्साहपूर्ण घरदैलो

सुगौली टोलमा रास्वपा उम्मेदवार सुशील कानुको उत्साहपूर्ण घरदैलो

वीरगञ्ज १८ फागुन

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६, सुगौली टोलमा सुशील कुमार कानु नेतृत्वको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कानुको स्वागतमा स्थानीयवासीहरूले अबिर र गम्छा लगाएर आत्मीयता प्रकट गरेका थिए।
घरदैलोका क्रममा जेन–जी युवादेखि ज्येष्ठ नागरिक, महिला तथा स्थानीय समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार कानुले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे।
“जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउनेछु,” उनले भने, “स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाइनेछ।” उनले कृषकका लागि मल व्यवस्थापन सहज बनाउने, युवाहरूलाई रोजगारीमुखी तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरे।
त्यसैगरी, रास्वपा नेतृत्वमा दलित समुदाय लक्षित स्वास्थ्य सेवा सुधार, शिक्षामा पहुँच विस्तार तथा स्थायी रोजगारी सिर्जना गरिने विश्वास व्यक्त गर्दै कानुले विकास, रोजगारी, शिक्षा र कृषिलाई केन्द्रमा राखेर जनमुखी कार्यक्रम अघि सारिने बताए।
कार्यक्रममा सहभागी समर्थकहरूले “परिवर्तनका लागि घण्टी ओठमा मात्र होइन, मनले छ समर्थन घण्टीमा—यो निर्वाचन हाम्रो हो, परिवर्तनको हो” भन्ने नारा लगाउँदै उत्साह प्रदर्शन गरेका थिए।
सुगौली टोलमा देखिएको व्यापक सहभागिता र सक्रियताले पर्सा–२ मा चुनावी माहोल थप तातिँदै गएको संकेत गरेको स्थानीयवासीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।