दुबईमा अलपत्र नेपालीको उद्धार : नेपाल वायु सेवा निगमको आज राति ‘स्पेशल फ्लाइट’
दुबईमा अलपत्र नेपालीको उद्धार : नेपाल वायु सेवा निगमको आज राति ‘स्पेशल फ्लाइट’

काठमाडौँ, २७ फागुन
नेपाल वायु सेवा निगमले दुबईमा रोकिएका नेपाली यात्रुको उद्धारका लागि आज राति विशेष उडान सञ्चालन गर्ने भएको छ। निगमले मङ्गलबार जारी गरेको उडान सूचनाअनुसार आज राति ११ः१५ बजे वाइडबडी विमानमार्फत काठमाडौँबाट दुबईका लागि उडान हुने छ।
उक्त उडानबाट नेपालमा रोकिएका यात्रुलाई दुबई पुर्याइने र दुबईमा अलपत्र परेका नेपाली यात्रुलाई स्वदेश फर्काइने निगमले जनाएको छ। दुबईबाट उड्ने आरए २३० (दुबई–काठमाडौँ) वाइडबडी विमान बिहीबार बिहान ४ः१० बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको छ।
अमेरिका–इरान युद्ध सुरु भएपछि रोकिएका यात्रुको उद्धारका लागि १२ दिनपछि पहिलो पटक निगमले दुबईमा विशेष उडान गर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार ‘पहिलो आउनेले पहिलो सेवा पाउने’ मान्यताका आधारमा यात्रुलाई प्राथमिकता दिइनेछ।
आजको उडानबाट करिब २७० देखि २८० जना यात्रु दुबई पुग्ने अपेक्षा गरिएको निगमले जनाएको छ। विशेष गरी दुबईमा उद्धारको प्रतीक्षामा रहेका नेपाली यात्रुलाई स्वदेश फर्काउने उद्देश्यले यो स्पेशल फ्लाइटको व्यवस्था गरिएको हो।
निगमका अनुसार आरए २२९ (काठमाडौँ–दुबई) उडान आज राति ११ः१५ बजे हुनेछ भने आरए २३० (दुबई–काठमाडौँ) उडान बिहीबार बिहान ४ः१० बजे काठमाडौँका लागि प्रस्थान गर्ने तालिका तय गरिएको छ।
गत २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले मात्र यो विशेष उडानमा यात्रा गर्न पाउने निगमले जनाएको छ। साथै यात्रुहरुलाई निगमबाट टिकट पुनः प्रमाणित गराएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।






