“घरेलु हिंसाका पीडितलाई साथ: सांसद कानुको मानवीय घोषणा—उपचार खर्च आफैं व्यहोर्ने”
“घरेलु हिंसाका पीडितलाई साथ: सांसद कानुको मानवीय घोषणा—उपचार खर्च आफैं व्यहोर्ने”

वीरगञ्ज ५ चैत्र
पर्सा–२ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले घरेलु हिंसाबाट गम्भीर घाइते भएकी हरिकला देवी सहनीको उपचार खर्च आफैं व्यहोर्ने घोषणा गरेका छन्।
सहनी बाराको परवानीपुर गाउँपालिका स्थित एलएस न्युरो अस्पतालमा उपचाररत छन्। बिहीबार अस्पताल पुगेर पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सांसद कानुले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले आवश्यक परे आफ्नै तलब वा अन्य स्रोतबाट भए पनि सम्पूर्ण खर्च व्यवस्थापन गर्ने स्पष्ट पारे।
पीडितलाई भेट्ने क्रममा उनले अमानवीय आक्रमण गर्ने श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरे। साथै पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकसँग समन्वय गर्दै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरिएको जानकारी दिए।
सांसद कानुले घटनाबारे जानकारी पाएपछि काठमाडौंबाट फर्किएलगत्तै अस्पताल पुगेर पीडितलाई भेटेको बताए। त्यसअघि आफू पार्टी कार्यक्रममा व्यस्त रहेकाले प्रतिनिधिमार्फत प्रारम्भिक जानकारी लिएको उनले उल्लेख गरे।
महिला हिंसा न्यूनीकरणका लागि नीतिगत सुधार आवश्यक रहेको औंल्याउँदै उनले संसद् अधिवेशनमा यस विषयलाई उठाउने र पीडितका लागि राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने प्रतिबद्धता जनाए।
गत आइतबार पर्सागढी नगरपालिका–७ मा घरायसी विवादका क्रममा विश्वनाथ सहनीले आफ्नी श्रीमतीमाथि क्रूर आक्रमण गरेका थिए। उनले हातखुट्टा बाँधेर काठ काट्ने आरी प्रयोग गरी खुट्टा काटेका थिए।
गम्भीर घाइते सहनीलाई प्रहरी टोलीले उद्धार गरी प्रारम्भिक उपचारपछि नारायणी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एलएस न्युरो अस्पतालमा सारिएको हो।
घटनापछि फरार रहेका आरोपीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। यस घटनाले घरेलु हिंसाको गम्भीरता पुनः उजागर गर्दै यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।






