मधेश विश्वविद्यालयका कर्मचारीद्वारा छात्रामाथि अनैतिक दबाब: प्रलोभन र धम्की दिने गद्दी प्रहरी खोरमा

मधेश विश्वविद्यालयका कर्मचारीद्वारा छात्रामाथि अनैतिक दबाब: प्रलोभन र धम्की दिने गद्दी प्रहरी खोरमा

विद्यार्थीको भविष्य कोर्ने ‘शिक्षाको मन्दिर’ मानिने विश्वविद्यालयभित्रै एक कर्मचारीले छात्रामाथि अनैतिक सम्बन्धका लागि दबाब दिँदै करियर नै धरापमा पार्ने धम्की दिएको सनसनीपूर्ण खुलासा भएको छ । वीरगञ्जस्थित मधेश विश्वविद्यालयमा कार्यरत कर्मचारी राजु गद्दीले बी.ए.एल.एल.बी. प्रथम वर्षमा अध्ययनरत एक छात्रालाई प्रेम प्रस्ताव राख्ने र अस्वीकार गरेपछि परीक्षामा नम्बर घटाइदिने धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सेवाको नाममा ‘कुदृष्टि’

पीडित छात्रा (नाम परिवर्तन: रुबिना) का अनुसार यो सिलसिला कलेजको स्वागत कार्यक्रमको दिनदेखि सुरु भएको थियो । कार्यक्रममा ढिला पुगेकी छात्रालाई गद्दीले सहयोग गर्ने बहानामा आफ्नो मोटरसाइकलमा बसाएर कार्यक्रम स्थलसम्म पुर्‍याएका थिए । सोही क्रममा उनले छात्राको पारिवारिक पृष्ठभूमि बुझ्दै मोबाइल नम्बर लिएका थिए । त्यसपछि सुरु भएको ह्वाट्सएप र फोन संवाद अन्ततः अश्लील दबाब र अनैतिक प्रस्तावमा परिणत भएको पीडितको गुनासो छ ।

छात्रवृत्तिको लोभ र मार्क्सको धम्की

छात्राले गद्दीको ‘प्रेम प्रस्ताव’ अस्वीकार गर्दै उनको नम्बर ब्लक गरेपछि उनले आफ्नो पदिय हैसियतको दुरुपयोग गरी धम्क्याउन सुरु गरेका थिए । उजुरीमा उल्लेख भएअनुसार गद्दीले भनेका थिए— “यदि मेरो कुरा मानिनौ भने परीक्षामा मार्क्स घटाइदिन्छु, र यदि प्रस्ताव स्वीकार गरेमा स्कलरसिप (छात्रवृत्ति) मा पारिदिन्छु ।”आफूमाथि बारम्बार मानसिक सास्ती र करियर बर्बाद पार्ने धम्की आएपछि पीडित छात्राले न्यायका लागि प्रशासनको ढोका ढकढक्याएकी थिइन्

फरार अभियुक्त फन्दामा

गद्दी विरुद्ध चैत १४ गते जिल्ला प्रशासन कार्यालय, पर्सामा उजुरी परेपछि उनी मोबाइल स्विच अफ गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनको खोजी तीव्र पारेको थियो । अन्ततः लुकिछिपी बसेको अवस्थामा उनलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी हरि बहादुर बस्नेतले अभियुक्तलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पुष्टि गर्नुभएको छ ।

अन्य विद्यार्थी पनि पीडित भएको आशंका

श्रोतका अनुसार गद्दीले यसअघि पनि अन्य छात्राहरूसँग यस्तै प्रकृतिको दुर्व्यवहार गर्ने गरेको खुलेको छ । यतिबेला उनलाई राजनीतिक वा अन्य पहुँचका आधारमा छुटाउन केही “दलाल प्रवृत्ति” का व्यक्तिहरू सक्रिय रहेको बताइएको छ । तर, विश्वविद्यालय जस्तो संवेदनशील क्षेत्रमा छात्राको अस्मिता र भविष्यमाथि खेलबाड गर्ने कर्मचारीलाई कडा सजाय हुनुपर्ने माग उठ्न थालेको छ । संभार : देश मधेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।