सय किलो सुन प्रकरणमा चिनियाँ नागरिक : सीसीटीभीले खुलायो दावा र लिनको कनेक्सन

करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङबीच पहिलेदेखि नै साझेदारी रहेको खुलासा भएको छ।

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा उनीहरुबीच लामो समयदेखि उठबस रहेको देखिएको हो। सोही प्रमाणको आधारमा राजस्वले दावालाई पक्राउ गरेको हो।

लिन संलग्न रहेको कार्यालय र काठमाडौँका केही स्थानका सीसीटीभी फुटेज हेरेको राजस्वको टोलीले उनीसँग दावाको कनेक्सन फेला पारेको थियो।

ठमेलमा रहेको होटल भियनाको सीसीटीभी फुटेजबाट यी दुई जनाबीच पछिल्लो पटक साउन ४ गते भेटघाट भएको देखिएको छ।

साउन २ गते सिनामंगलबाट करिब सय किलो सुन बरामद गरेपछि भाग्दै गर्दा लिन साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

लिन र दावाबीच पटकपटक भेट भएको सीसीटीभी फुटेजबाट देखिएको छ। यस्तै, उनीहरुबीच एसएमएस र टेलिफोनमा समेत कुरा भएको पाइएको छ।

दावाले नै लिनलाई नेपाल झिकाएको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए।

साउन २ गते सिनामंगलमा झण्डै सय किलो सुन बरामद् गरेपछि पनि लिनसँग दावाको सम्पर्क भइरहेको थियो। तर, यसमा उनको संलग्न भएको पत्ता लगाउन राजस्वलाई शनिबारसम्म कुर्नुपरेको थियो।

ठमेलको भियाना होटेलबाट शनिबार दावा पक्राउ परेका छन्।

‘दावा र लिनबीच विगतदेखि नै सम्पर्क भइरहेको देखिन्छ। सय किलो सुन बरामद गरेपछि लिनले दावासँग होटल भियनामै भेटेका रहेछन्,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘सय किलो सुन उनीहरुकै हो होइन, अनुसन्धान गर्दैछौँ।’

राजस्वले १८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको बयान लिने लगायतका अनुसन्धान भइरहेको छ। राजस्वको टोलीले अन्य दुईजना चिनियाँ नागरिकको खोजी गरिरहेको छ।

ती दुई जनाकै एनएमबी बैंकमा रहेको खाता रोक्का गरे पनि नाम सार्वजनिक गरेको छैन।

‘ती दुवैको दावा–लिनसँग कनेक्सन छ छैन? अनुसन्धान जारी छ,’ ती अधिकृतले थपे, ‘संलग्न मान्छेको नजिक पुग्यौं। कल डिटेल र एसएमएसबाट प्राप्त प्रमाण र सीसीटीभी फुटेजबाट पनि उनीहरुबीच निरन्तर सम्पर्क भइरहेको खुल्छ।’

पक्राउ परेका सबैको प्रमाण  
राजस्वले यस पटक अनुसन्धानबाट पर्याप्त प्रमाण जुटेपछि मात्र व्यक्तिलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। राजस्व विभागले अहिलेसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ।

‘सुन तस्करसँग संलग्नता देखिएको व्यक्तिलाई नियन्त्रणमा लिएर बयान लिइरहेका छौँ,’ राजस्वका अर्का अधिकृतले भने, ‘नियन्त्रणमा लिएपछि त्यो सबैतिर फैलन्छ, निर्दाेष व्यक्ति परे भने उनीहरुलाई सार्वजनिक रुपमा पर्ने प्रभाव र असरप्रति हामी गम्भीर छौँ।’

अनुसन्धानका लागि राजस्वले ९० दिनको समय पाएको छ।

सुनको वास्तविक मालिक खोज्न राजस्वले प्रहरीको समेत सहयोग लिएको छ।

सुन बरामदसँगै नियन्त्रणमा लिएका केही व्यक्तिको माध्यमबाट मुख्य मालिकसम्म पुग्न राजस्वले केही ठाउँमा राति पनि छापा मारेको छ।

‘केही ठाउँमा दिउँसै अप्रेसन गरेर सामान बरामद गर्न सफल भयौँ,’ अर्का अधिकृत भन्छन्, ‘दिनभरि सूचना संकलन र विश्लेषण गरेर राति अप्रेसन (छापा) मार्दा केही हदसम्म सफल हुन थालेका छौँ।’

साउन १० गते राजस्वको टोलीले सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो। ब्रेक सु रहेका ६६ काटन फेला पर्दा अधिकांश खोलिएको अवस्थामा थिए।

खोलिएका सबैमा सुन नै रहेको र त्यसलाई तस्करले फुत्काएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए।

खोलिएका सबैमा सुन नै रहेको र त्यसलाई तस्करले फुत्काएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए।

राजस्वले शनिबार (१३ साउन) को राति टोखास्थित कृषि फार्ममा छापा मारेको थियो।

त्यहाँ सुन प्रशोधन गर्ने कारखाना फेला परेको छ। विभागका अनुसार विमानस्थलबाट फुत्काएको सुन बालुवाटारको गोदाम, सोह्रखुट्टे गोदाम हुँदै टोखाको कृषि फार्ममा पु¥याएर सुन प्रशोधन गर्दै नेपाली र भारतीय बजारमा लग्ने गरेको पाइएको छ।

शनिबार रात नै राजस्वले ठमेलको होटल भियनामा छापा मारेर दावा छिरिङलाई नियन्त्रणमा लिएको छ।


कहाँ पुग्यो अनुसन्धान   

राजस्व विभागले सय किलो सुनका मालिक खोज्न थालेको १३ दिन भइसकेको छ। विभागसँग अनुसन्धानका लागि अझै ७७ दिनको समय छ।

शनिबार पक्राउ परेका दावासँग सोमबार सोधपुछ सुरु भएको छ।

‘दावासँग राजस्वले सोमबारदेखि सोधपुछ सुरु भएको छ। एक दुई दिनमा अझै थप तथ्य खुल्दै जाला,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले भने।

पहिलेदेखि नै उनको गतिविधि शंकास्पद देखिएको र सुन तस्करीका घटनाक्रममा पनि जोडिएको ढुंगानाले बताए।

‘सुन तस्करी प्रकरणमा उनी संलग्न देखिन्छ, कुनकुन कामका लागि उनी खटिए अनुसन्धान गर्दैछौँ,’ उनले भने।

अर्का अनुसन्धान अधिकृतका अनुसार यसअघि पक्राउ परेका अभियुक्तहरुले भने उक्त होटलबाट समेत सुनको कारोबार हुने गरेको बयान दिएका छन्। सोही बयान र पक्राउ परेकासँगको कनेक्सनका आधारमा उनलाई पक्राउ गरिएको हो।

‘उनले बाहिरै बसेर  तस्करलाई सहयोग गरेका मात्र हुन कि  टिममै बसेर व्यवस्थापन नै गर्छन्, बुझ्ने क्रम जारी छ,’  उनी भन्छन्। नेपालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।