घाइते परिवारसँग पूर्व मुख्यमन्त्री सोनल र जसपा का उम्मेदवार सन्जु साहको भेट
घाइते परिवारसँग पूर्व मुख्यमन्त्री सोनल र जसपा का उम्मेदवार सन्जु साहको भेट

माघ १६ बारा
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीह टोलमा माघ १४ गते घटेको घटनामा घाइते भएका परिवारसँग भेटघाट गर्न पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेता मा. जितेन्द्र सोनल र बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साह घटनास्थल पुगेका छन्।
उनीहरूले घाइते परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। भेटघाटका क्रममा नेता सोनल र उम्मेदवार साहले घटनाबाट प्रभावित परिवारलाई ढाढस दिँदै दुःखको घडीमा आफूहरू जनतासँगै रहेको सन्देश दिएका छन्।
पूर्व मुख्यमन्त्री सोनलले यस प्रकारका घटनाले समाजमा असुरक्षा र भयको वातावरण सिर्जना गर्ने भन्दै राज्य संयन्त्रले नागरिकको सुरक्षा सुनिश्चित गर्न गम्भीर हुनुपर्ने बताए। उनले दोषीलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनु सरकारको पहिलो दायित्व भएको स्पष्ट पारे।
त्यसैगरी प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहले जनताको जीवन, सुरक्षा र सम्मानलाई केन्द्रमा राखेर राजनीति हुनुपर्नेमा जोड दिँदै भने, “जनताको पीडा बुझ्ने र संकटमा साथ दिने नेतृत्व नै आजको आवश्यकता हो। राजनीतिक पद र चुनावभन्दा माथि जनताको जीवन हुन्छ।”
भेटघाटका क्रममा स्थानीयबासीले घटनाबारे आफ्ना गुनासा तथा समस्या राखेका थिए। उनीहरूले शान्ति सुरक्षा कमजोर बन्दै गएको भन्दै स्थायी समाधानको माग गरेका छन्। नेताहरूले ती विषयलाई सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
घटनापछि प्रभावित क्षेत्रमा प्रत्यक्ष उपस्थित भई पीडित परिवारसँग भेटघाट गर्नुले आगामी निर्वाचनको सन्दर्भमा जनमुखी र जिम्मेवार राजनीतिक भूमिकाको सन्देश दिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।






