बाराको प्रसौनीमा ४ करोडको शैक्षिक पूर्वाधार: बेङ्गा साह माविमा आधुनिक भवनको शिलान्यास

बाराको प्रसौनीमा ४ करोडको शैक्षिक पूर्वाधार: बेङ्गा साह माविमा आधुनिक भवनको शिलान्यास

वीरगञ्ज ३० चैत
नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।

शनिबार आयोजित समारोहमा भारतका वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना र प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवालले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो।

भारत सरकारको अनुदान सहयोगमा करिब ४ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत सञ्चालन भइरहेको हो। परियोजनाअन्तर्गत तीन तले दुई वटा भवन निर्माण गरिनेछ, जसमा १२ वटा थप कक्षाकोठा, क्यान्टिन, भोजनालय, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला रहनेछन्।

कार्यक्रममा बोल्दै महावाणिज्यदूत मीनाले यस परियोजनाले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले एचआईसीडीपी कार्यक्रम नेपाल–भारत विकास साझेदारीको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा भारत सरकार निरन्तर सहयोगरत रहेको बताउनुभयो।

मधेश प्रदेशमा हालसम्म भारत सरकारले ८७ वटा परियोजना स्वीकृत गरेकोमा ६१ वटा सम्पन्न भइसकेका छन् भने २६ वटा कार्यान्वयनको चरणमा रहेका छन्। तीमध्ये ५२ वटा परियोजना शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन्। बारा जिल्लामा स्वीकृत ४ परियोजनामध्ये ३ सम्पन्न भइसकेका छन् भने एक निर्माणाधीन अवस्थामा रहेको छ।

यसैगरी भारत सरकारले नेपालभर १०४९ वटा एम्बुलेन्स र ३८१ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ। मधेश प्रदेशमा २३२ एम्बुलेन्स र ४० विद्यालय बस तथा बारा जिल्लामा ४० एम्बुलेन्स र ६ विद्यालय बस वितरण गरिएको जानकारी दिइयो।
हाल विद्यालयमा करिब २४०० विद्यार्थी अध्ययनरत रहेका छन्। नयाँ भवन निर्माणसँगै शैक्षिक पूर्वाधार सुदृढ भई विद्यार्थीहरूले सुरक्षित र आधुनिक वातावरणमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष जैसवालले निर्माणाधीन भवनले स्थानीय शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले परियोजनाको समयमै सम्पन्नता र प्रभावकारी उपयोगका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवसहित स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।