राजपुरमा युवतीको शव फेला, प्रहरीले सुरु गर्यो अनुसन्धान
राजपुरमा युवतीको शव फेला, प्रहरीले सुरु गर्यो अनुसन्धान

प्रेमचन्द्र झा / असार २५ गाैर
रौतहटको राजपुर नगरपालिकामा नहरको पानीमा एक युवतीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार बिहान करिब ७:२० बजे राजपुर नगरपालिका–३ स्थित राजपुर डामरबाट फतुवा जाने सडकछेउको नहरको खाल्डोमा शव रहेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी को ईलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा SOCO टोलीसहित प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गर्दा मृतक परोहा नगरपालिका–५ निवासी शेख मोबिनकी श्रीमती, करिब २४ वर्षीया मुस्कान खातुन रहेको खुलेको जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया (लास मुचुल्का) सम्पन्न गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक बसन्त अधिकारी ले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले मृत्युको कारण खुल्न पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानको निष्कर्ष पर्खनुपर्ने जनाएको छ।





