तीन दशकको राजनीतिक संघर्षपछि विभेदको पीडा: सामाजिक आन्दोलनमा सक्रिय भए झबर प्रसाद राम

‘राजनीतिले संघर्ष सिकायो, समानताको अभ्यास आफ्नै संगठनबाट सुरु हुनुपर्छ’

सप्तरी । तीन दशकभन्दा लामो राजनीतिक सक्रियतापछि आफूले जातीय विभेद, उपेक्षा र योगदानको उचित मूल्यांकन नपाएको अनुभूति गर्दै सप्तरीका झबर प्रसाद राम अहिले सामाजिक आन्दोलनमार्फत दलित समुदायको अधिकार र सम्मानका लागि सक्रिय भएका छन्।

साविक इटहरी विष्णुपुर गाविस (हाल विष्णुपुर गाउँपालिका) निवासी रामका अनुसार उनले २०४६ सालको जनआन्दोलनको समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। बहुदलीय प्रजातन्त्र स्थापना, सामाजिक समानता, वर्गीय शोषणको अन्त्य र जातीय विभेदविरुद्धको वैचारिक अभियानबाट प्रभावित भएर उनी पार्टीमा आबद्ध भएका थिए।

रामका अनुसार त्यसबेला ग्रामीण क्षेत्रमा कम्युनिष्ट विचारधारा बोकेर राजनीतिक गतिविधि सञ्चालन गर्नु सहज थिएन। सामाजिक दबाब, अविश्वास र विभिन्न अवरोधका बीच उनले गाउँ–गाउँ पुगेर संगठन विस्तार, सदस्यता वितरण, लेवी संकलन तथा गरिब र दलित परिवारबाट “मुठिया चामल” संकलन गरी जिल्ला संगठनसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह गरेका थिए।

उनले संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेले पनि त्यसको उचित मूल्यांकन नभएको गुनासो गरेका छन्।“संगठन निर्माण गर्ने, लेवी उठाउने र पार्टीलाई गाउँसम्म पुर्‍याउने हामीजस्ता कार्यकर्ता थियौं, तर उपलब्धि र पहिचान भने अरूले पाए,” रामले भने।

उनका अनुसार मार्क्सवाद, लेनिनवाद तथा अन्य कम्युनिष्ट चिन्तकका विचार अध्ययन गर्दै जाँदा संगठनभित्र वैचारिक प्रश्न उठाउन थालेपछि आफूले जातीय आधारमा विभेदपूर्ण व्यवहार भोग्नुपरेको अनुभव गरे। उनले आफूलाई अपमानजनक शब्द प्रयोग गरी हेप्ने प्रवृत्ति रहेको आरोप लगाएका छन्।

रामले मनमोहन अधिकारी ट्रस्टमा कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालेको उल्लेख गर्दै ट्रस्ट सञ्चालनका क्रममा आफूलाई योजनाबद्ध रूपमा जिम्मेवारीबाट अलग गरिएको तथा आर्थिक अनियमितता भएको आरोप पनि लगाएका छन्। यी आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।

उनका अनुसार पार्टीभित्र बढ्दो विभेदको अनुभूतिपछि उनले २०५७ सालमा दुईवटा स्पष्टीकरण पत्र बुझाएर नेकपा (एमाले) परित्याग गरेका थिए।

राजनीतिक दलबाट अलग भएपछि उनले दलित समुदायमाथि परम्परादेखि रहँदै आएका गामकमैया, पलेहनी लगायत विभेदपूर्ण सामाजिक अभ्यासविरुद्ध अभियान सञ्चालन गर्दै सामाजिक चेतना, आत्मसम्मान र समान अवसरका पक्षमा काम गर्न थाले।

त्यही वर्ष उनी तत्कालीन नेकपा (माओवादी)मा आबद्ध भएका थिए। माओवादी आन्दोलनलाई सामाजिक रूपान्तरणको अर्को सम्भावनाका रूपमा हेरे पनि नेतृत्व तहमा जातीय प्रतिनिधित्व अपेक्षाअनुसार हुन नसकेको अनुभव आफूले गरेको उनले बताएका छन्।

यद्यपि, तत्कालीन सप्तरी सह–इन्चार्ज विनोद (अशोक कुमार यादव)ले जात, धर्म वा समुदायका आधारमा कुनै विभेद नगरेको भन्दै उनले सकारात्मक रूपमा स्मरण गरेका छन्। उनका अनुसार यादव इमानदार, सरल र दलित तथा गरिब समुदायप्रति सकारात्मक दृष्टिकोण भएका नेता थिए।

रामको अनुभवले नेपालको राजनीतिक दलभित्र समावेशिता, समान अवसर र व्यवहारिक समानताको अवस्थामाथि पुनः बहस आवश्यक रहेको संकेत गर्छ। संविधानले जातीय विभेद र छुवाछुतलाई कानुनी रूपमा अपराध घोषणा गरिसकेको भए पनि राजनीतिक दल, सामाजिक संस्था र सार्वजनिक संरचनामा समान व्यवहारको अभ्यास अझ प्रभावकारी रूपमा संस्थागत हुनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

“राजनीतिले मलाई पदभन्दा बढी संघर्ष सिकायो। यदि राजनीति वास्तवमै समानताको आन्दोलन हो भने त्यसको सुरुवात आफ्नै संगठनभित्रबाट हुनुपर्छ,” रामको भनाइ छ।

झबर प्रसाद रामको अनुभवलाई केवल एक व्यक्तिको आत्मकथा मात्र नभई राजनीतिक आन्दोलनमा लामो समयदेखि सक्रिय आधारभूत कार्यकर्ता, दलित समुदायको प्रतिनिधित्व, सामाजिक न्याय र सम्मानजनक सहभागिताबारे पुनर्विचार गर्नुपर्ने विषयका रूपमा पनि हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।