संघीय सरकारको सहमति नलिई भारत पुगे मधेसका मुख्यमन्त्री यादव, धार्मिक भ्रमण भएको दाबी

संघीय सरकारको सहमति नलिई भारत पुगे मधेसका मुख्यमन्त्री यादव, धार्मिक भ्रमण भएको दाबी

जनकपुरधाम ८ साउन 

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको सहमति नलिई भारत भ्रमणमा गएको विषय सार्वजनिक भएपछि प्रदेश र संघीय सरकारबीचको समन्वय तथा विदेश भ्रमणसम्बन्धी प्रक्रियामाथि प्रश्न उठेको छ।

मुख्यमन्त्री यादव भने आफ्नो भारत भ्रमण व्यक्तिगत तथा धार्मिक प्रकृतिको भएकाले संघीय सरकारको सहमति आवश्यक नपरेको बताएका छन्।

मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोका अनुसार मुख्यमन्त्री यादव गत शुक्रबार भारतको देवघरस्थित प्रसिद्ध बाबा वैद्यनाथ धाम (बाबाधाम) दर्शनका लागि भारत गएका थिए। भ्रमणमा प्रदेश सरकारका केही मन्त्री तथा मुख्यमन्त्रीका स्वकीय सचिवसमेत सहभागी रहेको महतोले जानकारी दिएका छन्।

भारत भ्रमणका क्रममा मुख्यमन्त्री यादव धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भएको स्रोतले जनाएको छ। उनी आइतबार राति नै मधेस प्रदेश फर्किएका थिए।

यसअघि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले विदेश भ्रमण गर्दा संघीय सरकारसँग समन्वय तथा स्वीकृति लिने अभ्यास रहँदै आएको बताइन्छ। मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत तथा सतिश सिंहको विदेश भ्रमणका लागि संघीय सरकारबाट स्वीकृति दिइएको निर्णयसमेत सार्वजनिक अभिलेखमा रहेको जनाइएको छ।

तर, मुख्यमन्त्री यादवको पछिल्लो भारत भ्रमणका सम्बन्धमा भने संघीय सरकारबाट भारत भ्रमणका लागि कुनै निर्णय नभएको बताइएको छ। यही विषयले प्रदेश सरकारका पदाधिकारीको व्यक्तिगत तथा धार्मिक विदेश भ्रमणमा संघीय सरकारको स्वीकृति आवश्यक पर्छ कि पर्दैन भन्ने प्रश्न समेत उठाएको छ।

मुख्यमन्त्री यादवले आफू सरकारी प्रतिनिधिमण्डलको औपचारिक भ्रमणमा नगएको स्पष्ट पार्दै भ्रमण व्यक्तिगत धार्मिक प्रकृतिको भएकाले संघीय सरकारसँग सहमति नलिएको बताएका छन्।

व्यक्तिगत धार्मिक भ्रमण भएकाले संघीय सरकारको सहमति लिएको होइन,’ मुख्यमन्त्री यादवले भने। उनका अनुसार उनी शुक्रबार भारत गएका थिए भने आइतबार राति नै मधेस प्रदेश फर्किएका हुन्।

मुख्यमन्त्रीको भारत भ्रमणसँगै प्रदेश र संघीय सरकारबीच विदेश भ्रमणका विषयमा अपनाइने प्रक्रिया, अधिकार क्षेत्र र आपसी समन्वयको विषय पुनः बहसमा आएको छ। संभार: रातोपाटी डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।