स्व. कर्णबहादुर क्षेत्रीको सम्झनामा निर्मित शवदाह घाट समुदायलाई हस्तान्तरण
स्व. कर्णबहादुर क्षेत्रीको सम्झनामा निर्मित शवदाह घाट समुदायलाई हस्तान्तरण

प्रेमचन्द्र झा /भदौ २३ रौतहट
फतुवा विजयपुर नगरपालिका–८ का स्वर्गीय कर्णबहादुर क्षेत्रीको सम्झनामा उनका परिवारले निर्माण गरेको भौतिक संरचनासहितको शवदाह घाट समुदायलाई हस्तान्तरण गरिएको छ।
स्वर्गीय क्षेत्रीका ज्येष्ठ सुपुत्र सुरेश लामिछाने, ज्येष्ठ बुहारी मिन्ना लामिछाने, ज्येष्ठ नातिनी एलिजा लामिछाने र ज्येष्ठ नाति एलिस लामिछानेको पहल तथा लगानीमा निर्माण गरिएको शवदाह घाट हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा बोल्दै ज्येष्ठ सुपुत्र सुरेश लामिछानेले आफ्ना पिताको स्मृतिलाई जीवित राख्ने उद्देश्यले समुदायको आवश्यकतालाई समेत ध्यानमा राखेर शवदाह घाट निर्माण गरिएको बताए।
उनले परिवारका सदस्यको सम्झनामा गरिने सामाजिक कार्यले व्यक्तिगत स्मृतिलाई मात्र नभई समग्र समुदायलाई प्रत्यक्ष लाभ पुर्याउन सक्ने बताए। “बुबाको सम्झनालाई केवल घरपरिवारमा सीमित नराखी समाजका लागि उपयोगी हुने काम गरौँ भन्ने सोचले यो संरचना निर्माण गरेका हौँ,” लामिछानेले भने।
उनले शवदाह घाटको संरक्षण, सरसफाइ तथा उचित व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यसको दीर्घकालीन उपयोग र संरक्षणका लागि सबैले जिम्मेवारी लिन आग्रह गरे।
स्थानीय बासिन्दाले शवदाह घाट निर्माण भएपछि अन्त्येष्टि कार्यका लागि सहज हुने बताएका छन्। आवश्यक भौतिक संरचनासहित निर्माण गरिएको घाटले स्थानीय समुदायलाई प्रत्यक्ष सुविधा पुग्ने उनीहरूको भनाइ छ।
परिवारले स्वर्गीय कर्णबहादुर क्षेत्रीको सम्झनामा सामाजिक तथा सामुदायिक हितका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले उक्त संरचना निर्माण गरेको जनाएको छ। कार्यक्रमका सहभागीहरूले व्यक्तिगत सम्पत्तिभन्दा सामाजिक उपयोगका संरचना निर्माण गरेर दिवंगत अभिभावकको स्मृतिलाई सम्मान गर्नु अनुकरणीय कार्य भएको बताएका थिए।
शवदाह घाट समुदायलाई हस्तान्तरणसँगै यसको सञ्चालन, संरक्षण र नियमित सरसफाइको जिम्मेवारी स्थानीय समुदायले लिने बताइएको छ।





