नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा लैजाने एम डी बसरुद्धिन अंन्सारीको उद्घोष

काठमाडौं २७ साउन

नेपाल मेडिकल कलेजमा कलेजका नयाँ सञ्चालक सदस्य तथा म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीलाई कलेजका कर्मचारी हरुले भब्यताका साथ स्वागत गरेका छन् । कलेजमा आज स्वागत कार्यक्रम आयोजना गर्दै नेपाल मेडिकल कलेज स्वतन्त्र कर्मचारी युनियनले कलेज सञ्चालक तथा नव नियुक्त म्यानेजिङ डाइरेक्टर अन्सारीलाई स्वागत गरेका हुन् ।

कलेजमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलेजका अध्यक्ष डा. भोला रिजालले नेपाल मेडिकल कलेजलाई नवनियुक्त सञ्चालक तथा म्यानेजिङ डाइरेक्टरले नयाँ उचाईमा पुर्याउने विस्वास व्यक्त गरे ।

‘उहाँ विसौं वर्षदेखि मेडिकल शिक्षामा समर्पित हुनुहुन्छ, उहाँमा लगनशीलता, प्रतिबद्धता समेत छ, बसरुद्धिन अन्सारीको आगमन र व्यवस्थापनले कलेजले मेडिकल शिक्षा र स्वास्थ्य सेवामा नयाँ फड्को मार्ने अपेक्षा गरेका छौं ।’ डा. रिजालले भने ।

नेपाल मेडिकल कलेजको मेडिकल शिक्षा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान रहेको बताउँदै डा. रिजालले २०५२ सालमा कलेज स्थापना गर्दैगर्दा आजको दिनमा नेपालकै ठूलो मेडिकल कलेजको रुपमा स्थापना हुन्छ भनेर विस्वासै गर्न नसकिएको बताए ।

काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्न सफल भएको बताए । ‘हामीलाई कोरोना महामारीले धेरै असर गर्यो ।

विरामीको उपचारमा, आन्तरिक व्यवस्थापनमा, कर्मचारी तलब व्यवस्थापनमा । तर, त्यत्ति हुँदाहुँदै पनि कलेजको पठनपाठनमा हामीले विश्वकिर्तिमान राखेका छौं । अब अस्पतालको गुणस्तरको लागि, शैक्षिक गुणस्तरको लागि बसरुद्धिन अन्सारीलाई भित्र्याएका हौं ।’ डा. रिजालले भने ।

विरगञ्जको नेशनल मेडिकल कलेजलाई अंन्सारीकै नेतृत्वमा नेपालकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा स्थापित गरेकोले अब नेपाल मेडिकल कलेजलाई पनि त्यहि उचाईमा पुर्याउनेमा विस्वास गर्नुपर्ने बताए ।

‘कलेजलाई अगाडी बढाउनका लागि यहाँ आबद्ध सबै कर्मचारी, चिकित्सक, विद्यार्थी, फ्याकल्टीको योगदान हुनुपर्छ । अब यहाँ कलेजलाई विगार्ने, यहाँ आएका विरामीलाई दुखः दिने, ठग्नेहरुको अन्त्य हुनुपर्छ । यसका लागि हामी सबैले अन्सारीजीलाई साथ र सहयोग गर्नुपर्छ ।’

स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त म्यानेजिङ डाइरेक्टर अन्सारीले नेपाल मेडिकल कलेजलाई सुधार्न, नेपालकै नमूना शिक्षण संस्थाका रुपमा स्थापित गर्न आफु एक्लैको प्रयासले नहुँने बताउँदै यसमा कलेजमा आवद्ध सम्पूर्ण व्यक्तिहरुको उत्तिकै योगदान हुनुपर्ने बताए ।

‘नेपाल मेडिकल कलेजमा धेरै कुरा सुधार्न सकिन्छ, यसको शिक्षा, स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकिन्छ नै भनेर म आएको हुँ । यस अभियानमा तपाई शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा फ्याकल्टी सबैको साथ र सहयोग मलाई चाहिन्छ ।’ अन्सारीले भने ।

नेपाल मेडिकल कलेजको व्यवस्थापन सुधार्न र विगतका कमीकमजोरीहरु कसरी सुधार्न सकिन्छ सबैले आ–आफ्नो ठाउँबाट सुझाव, सल्लाह दिनुपर्ने र सँगसँगै आ–आफ्नो काम कर्तव्य इमान्दारिताका साथ गर्नुपर्ने जिकिर गरे ।

अब कलेजमा काम गर्नेलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने परम्परा थालनी हुने, स्वास्थ्य उपचारमा नयाँ नयाँ टेक्नोलोजीहरु थप गर्ने तथा सर्वसुलभ रुपमा आम जनताले स्वास्थ्य सेवा पाउने उद्घोष गरे । स्वास्थ्य सेवा तर्फ आगामी असोज भित्र जनरल र ओपिडीमा विषेश योजनाहरु ल्याउने, दक्ष जनशक्तिको व्यवस्थापन गर्ने अन्सारीले बताए ।

कलेजका स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले कलेजको आन्तरिक व्यवस्थापन सुधार्न र सेवाहरु चुस्त दुरुस्त गराउन कलेज प्रशासन र कर्मचारी युनियन सहकार्य गरेर अगाडी बढ्ने बताए ।

काठमाडौंका जनता माझ नेपाल मेडिकल कलेज स्वास्थ्य सेवाका लागि विस्वसनीय रहेको बताउँदै विगतमा मेडिकल कलेजले स्थानीय तहका सर्वसाधारणलाई दिँदै आएको सेवा सुविधाहरु नियमित गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

साथै उनले कर्मचारीहरुले पनि आफ्नो दायित्व इमान्दारिताका साथ पालना गरेर जानु पर्ने तथा व्यवस्थापनले कर्मचारीहरुलाई नियमित सेवा सुविधा दिने, उनीहरुको वृत्ति विकासमा योगदान गर्ने, अविच्छिन्न काम गर्नेहरुलाई सुरक्षित भविष्यको ग्यारेण्टी गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा कलेजका प्रिन्सिपल, विभागीय प्रमुख, कलेज सञ्चालक तथा फ्याकल्टी, नर्स, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।