एमाले पार्टी अध्यक्ष ओलीले खुलेरै दिए चिनको साथ, चिनियाँ कदमको विरोध गर्ने सरकारलाई उल्टै दनक

काठमाडौं १३ माघ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनसँग सीमा विवाद गरेर दुई राष्ट्रबीचको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन् ।
आईतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले विगतमै टुंगिसकेको चीनसँगको सीमा विवादमा प्रश्न गर्दै सम्बन्ध विगार्ने काम देउवा नेतृत्वको सरकारले गरिरहेको आरोप लगाएका छन् ।
विगतमै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रुपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशङ्का र अविश्वास पैदा गर्ने काम गरिरहेको छ’ ओलीले जारी गरेको प्रेस बिज्ञप्तीको बुँदा नं. ५ मा उल्लेख गरिएको छ ।
चीनप्रति नरम देखिएका ओली भारतप्रति कडा रुपमा प्रस्तुत भएका छन् । चीनसँगको सीमा विवादबारेमा सरकारले छानबिन समिति गठन गरेर विवाद समाधान गर्ने प्रयास गर्दा ओलीले चीनसँग कुनै सीमा विवाद नै नभएको ठोकुवा गरेका छन् । तर, भारतसँगको बिभिन्न बिषय उठाउँदै उनले आक्रमक रुपमा प्रस्तुत भएका छन् ।
मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखापरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘भारतसँग ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल गर्नु त परको कुरा– लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिरहेको छ ।’
भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर महाकालीमा वेपत्ता पारिएका जयसिंह धामीका सम्बन्धमा मौन बसेको देउवा सरकार राष्ट्रिय हित, स्वाभिमान र नागरिकको जीवनरक्षासँग जोडिएका कैयौं प्रश्नमा लाचार बनेको आरोप ओलीको छ ।
राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीहरुका लागि ‘कम्फर्टेबल‘ बन्ने वचनबद्धतासहित गठन भएको गठबन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको छ’ ओलीले भनेका छन् ।
यस्तै, अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेको आरोप उनले लगाएका छन् ।
‘अमेरिकी अधिकारीहरुसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरुले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन् । उनीहरुले हिजो आफैँले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन्’ उनले भनेका छन् ।
यसैगरी ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा एकैचोटी दर्जनौं मुलुकहरूबाट राजदूत फिर्ता गराउँने सरकारले नेपालसँग महत्वपूर्ण सम्बन्ध रहेका मुलुकस्थित नियोगहरूलाई महिनौंसम्म राजदूतविहीन बनाउने गैरजिम्मेवार काम गरेको आरोप लगाएका छन् ।





