एमसीसीलाई लिएर दुई महाशक्ति चीन र अमेरिकाबीच वाकयुद्ध, के गर्ला नेपाल

काठमाडौँ– नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ ।

सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएको हो ।

यसको सुरुवात गत माघ २७ गते भएको हो । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका सत्तारूढ दलहरूबीच मतभेद बढिरहेका बेला त्यस दिन अमेरिकी सहायत विदेशमन्त्री डोनाल्ड लुले नेपालका ठूला तीन दलका तीन शीर्ष नेतालाई फोन गरेका थिए ।

लुले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए ।

फोनमा तीनै जना नेतासँग अमेरिकी विदेशमन्त्री लुले स्पष्ट भनेका थिए, ‘एमसीसी अनुमोदन गर्ने तपाईँहरूको कुरा हो । तपाईँहरूले दिएको समय सीमाभित्र अनुमोदन हुनेमा हामी विश्वस्त छौँ । हामी अब एमसीसीको समय थप गर्ने पक्षमा छैनौँ । यदि एमसीसी अनुमोदन भएन भने हामी नेपालसँगको सम्बन्ध पुनर्विचार गर्नेसम्म पुग्न सक्छौँ र चीनको दबाबका कारण यो अनुमोदन हुन सकेन भनेर बुझ्ने छौँ ।’

अमेरिकी विदेशमन्त्रीको ठाडो चेतावनीपछि नेपालको राजनीतिक वृत्तमा हल्लिखल्ली मच्चियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो चेतावनीले नेपाल र अमेरिकाबीचको सम्बन्ध बिग्रने र यसले अमेरिकाको समेत हित नगर्ने भनेर प्रतिक्रिया जनाए ।

यसअघि, नेपालमा एमसीसीको विरोध गर्नेहरूले अमेरिकाले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) रोक्न ल्याएको बताउँदै आएका थिए । उनीहरूले एमसीसी चीनको वि?द्धमा रहेकोसमेत बताउँदै आएका थिए । अमेरिकालाई यस्तो टिप्पणीले नेपालका नेतालाई चेतावनी दिन थप सहज बनाइदियो । यसैमा टेकेर अमेरिकी सहायक विदेशमन्त्री लुले यदि एमसीसी नेपालको संसदबाट अनुमोदन नभए चीनको कारण भएको बुझ्ने बताएका थिए ।

अमेरिकाले पहिला ‘फायर’ खोलेपछि त्यसको जवाफ आज चीनले दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेनमार्फत् जवाफ दिएका हुन् । उनले अमेरिकी सहायक विदेशमन्त्रीले नेपालका नेतालाई दिएको चेतावनीलाई ‘धम्कीपूर्ण कूटनीति’ बताए । उनले चीन ‘धम्कीपूर्ण कूटनीति’ को पक्षमा नरहेकोसमेत स्पष्ट पारे ।

अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको छ, यसमा चीनको धारणा के हो ? भनि पत्रकारले सोधेको प्रश्नमा उनले अमेरिकी क्रियाकलापलाई ‘धम्कीपूर्ण कूटनीतिक’ को संज्ञा दिएका हुन् ।

‘नेपाललाई सहयोग गर्न र नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्छ । तर यो राजनीतिक अवस्थाका आधारमा भन्दा पनि नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’ वाङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।