प्रधानमन्त्री देउवाद्वारा स्थानीय तहको नाम परिवर्तन गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको नाम परिवर्तन गर्ने घोषणा गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहको सट्टा स्थानीय सरकार राख्न माग गरेका बेला उनीहरुको माग सम्बोधन गर्नेगरी प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका हुन् ।
उनले जनताका दु:ख हटाउने गरी काम गर्न पनि जनप्रतिनिधिलाई आग्रह गरे ।
नेपाल नगरपालिका संघले आफ्नो २९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आवश्यक संशोधन गरेर स्थानीय तहको सट्टा तह हटाएर सरकार बनाउने वचन पनि दिए ।
‘यहाँ स्थानीय तह भन्ने कि स्थानीय सरकार भन्ने कुरा उठ्यो। नामसँग रहर छ भने स्थानीय सरकारै भन्दिउला। नाम जे भए पनि काम गर्ने हो। सरकारै भनेर सबैको चित्त बुझ्ने हो भने अबदेखि सरकारै भन्नेगरी सबै पार्टीको सहमति ल्याएर, कहाँ कहाँ संशोधन गर्नुपर्छ? सबै मिलाएर सरकारै बनाउन हामीहरुले यसमा आपत्ति गर्ने कुरै छैन,’ उनले भने ।
देउवाले महत्वपूर्ण कुरा जनतालाई दिने सेवा भएको बताए । ‘तर महत्वपूर्ण कुरा डेलिभरी, कामको कुरा हो। जनताको प्रत्यक्ष समग्र सम्पर्कमा रहेको ठाउँ हो। त्यसकारण जनताका दुख हटाउने कामहरु गर्नुस्। भोलिका दिनमा यो सरकारै रुपमा हुनसक्छ। त्यसकारण तपाईहरु काम गर्दै जानुस्। तह हटाइदिउला। जनताको दुख सुख र उनीहरुलाई विकासमा सहभागी गराएर नियम कानुन बनाउनुस्,’ उनले भने ।






