महिलालाई बुर्का लगाउन तालिबानको आदेश

महिलाहरूले बुर्का नलगाए श्रीमान् वा पुरुष अभिभावकलाई कारबाही गर्ने तालिबानको चेतावनी

काबुल — अफगानिस्तानको तालिबान सरकारले महिलाहरूलाई सार्वजनिक स्थानमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन आदेश दिएको छ । नयाँ आदेशसँगै अफगान महिलाले एक दशकपछि पूर्ण रूपमा अनुहार छोप्नुपर्ने भएको छ ।

गत वर्ष सत्ता कब्जा गरेयता तालिबानले लगाएको यो सबैभन्दा कठोर नियन्त्रण हो । पहिलो चरणमा बुर्का नलगाउने महिलाको घर पहिचान गरी उनको परिवारका पुरुष सदस्यलाई सुझाव दिइने जनाइएको छ ।

दोस्रोपटक पनि नियम पालना नगरिए पुरुष अभिभावकलाई मन्त्रालयमा बोलाउनेदेखि अदालतसम्म लगेर कारबाही गर्नेसम्म भनिएको छ । बुर्का नलगाउने महिलाका श्रीमान् वा पुरुष अभिभावकलाई तीन दिनका लागि जेल सजायलगायतका कारबाही गर्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

यसअघि अफगानिस्तानका महिलाले धार्मिक कार्यक्रमहरूमा सल लगाउने गरेका थिए । तर काबुलजस्ता ठूला सहरमा भने उनीहरूले आफ्नो अनुहार ढाक्ने गरेका थिएनन् ।

सन् १९९६ देखि २००१ सम्म शासन गरेको तालिबानले महिलाका लागि निकै कडा नियमहरू लगाएको थियो । त्यतिबेला नीलो रङको अनुहार ढाक्ने बुर्का तालिबानको कठोर शासनको चिह्न बनेको थियो ।

गत वर्ष शासनसत्ता हातमा लिएपछि भने तालिबान नेताहरूले अघिल्लो पटकको तुलनामा लचिलो शासन गर्ने बताएका थिए । तालिबान सत्तामा आएसँगै कतिपय स्थानमा बुर्कासँग अफगान संस्कृतिको सम्बन्ध नभएको भन्दै महिला तथा अधिकारकर्मीहरूले प्रदर्शनसमेत गरेका थिए ।

करिब एक वर्ष बुर्कालगायत विषयमा मौन रहेको तालिबान सरकार पछिल्लो समय भने व्यावहारिक रूपमा कट्टर बन्दै गएको जनाइएको छ । तालिबानको पछिल्लो कदमलाई महिला स्वतन्त्रता थप कुण्ठित गर्ने प्रयासका रूपमा हेरिएको छ ।

नैतिक आचरणमाथि नियमन गर्ने अफगानिस्तानको मन्त्रालयले भने पछिल्लो प्रतिबन्ध सुझाव भएको जनाएको छ । नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालय पछिल्ला साताहरूमा थप सक्रिय बन्दै गएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि मन्त्रालयले महिलालाई पुरुष अभिभावकबिना लामो दूरीको यात्रा गर्न रोक लगाइसकेको छ । महिला र पुरुष एकै समयमा पार्कमा जानसमेत बन्देज लगाइएको छ । त्यस्तै, महिलालाई सवारीचालक अनुमतिपत्र दिन रोक लगाएको छ ।

गत मार्चमा तालिबान सरकारले छात्राहरूलाई अध्ययन अनुमति दिने आफ्नो निर्णय विद्यालय खुल्ने दिन उल्ट्याएको थियो । उक्त निर्णयपछि राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारको चर्को आलोचना गरेका थिए । तालिबान सत्तामा आएसँगै अमेरिकालगायत पश्चिमा देशहरूले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोगमा भारी कटौती गरेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।