परवानीपुर गाउँपालिकाका जनताले अब नि:शुल्क रगत उपलब्ध गराउन रेडक्रससँग सम्झौता

वीरगञ्ज ०९ भदौ
बाराको परवानीपुर गाउँपालिकाले जनतालाई नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । पालिकाको उपाध्यक्ष स्तरिय योजना अन्तर्गत पालिकाले आफ्नो जनतालाई बिरामी अवस्थामा रगत आवश्यक हुंदा नि:शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता गरेको छ ।
गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी र उपाध्यक्ष सुगान्धी देवी कनुइनको रोहवरमा भएको सम्झौतामा पालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार र रेडक्रस पर्साको तर्फबाट सभापति विरेन्द्र राज कँडेलले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र पालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी , उपाध्यक्ष सुगान्धी देवी कनुइन र रेडक्रस पर्साको सभापति विरेन्द्र राज कँडेलले एकआपसमा हस्तान्तरण गरेका छन् ।
सम्झौता पत्रमा जनतालाई बिरामी अवस्थामा उपचारको क्रममा डाक्टरको सिफारिसमा रगत आवश्यक हुंदा पालिकाको बासिन्दा प्रमाणित हुने परिचय पत्रको आधारमा र कर्मचारीको हकमा पालिकाको सिफारिसको आधारमा रक्तसंचार केन्द्रले नि:शुल्क रगत उपलब्ध गराउनु पर्ने छ भने सोमा लाग्ने सेवाशुल्क पालिकाले उपलब्ध गराउनु पर्नेछ ।
सम्झौताको क्रममा सभापति विरेन्द्र राज कँडेलले पालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई रेडक्रसले विपद, स्वास्थ्य एवं सामाजिक विकासका क्षेत्रमा समन्वय गरेर अगाडि बढ्न सकिने बताउनुका साथै रेडक्रसले निर्माण गर्न लागेको आधुनिक रक्तसंचार केन्द्र भवनका लागि सहयोग गर्न अनुरोध गर्नु भएकोमा पालिका अध्यक्ष र उपाध्यक्षले रक्तसंचार केन्द्र भवनका लागि यथासक्य सहयोग गर्ने बताउनुभयो ।
सम्झौता हस्तान्तरण कार्यक्रममा रेडक्रस मधेश प्रदेशका अध्यक्ष फूलमहम्मद मियाँ, रेडक्रस महोत्तरीको सभापति दिपक मिश्र, रेडक्रस पर्साको कोषाध्यक्ष महन्त प्रसाद यादव, ब्लोदान पर्साका सहसचिव उमेश गुप्ताको उपस्थिति रहेको रेडक्रस पर्साका नि. कार्यालय प्रमुख बिरशमसेर कुर्मीले बताएका छन् ।






